क्यानद्वारा ४५ वटै जिल्लालाई बजेट विनियोजन, अब हरेक वर्ष एनुअल अवार्ड हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) बाट भएको आम्दानीको हिस्सा जिल्ला क्रिकेट संघहरूलाई वितरण गर्ने निर्णय गरेको छ ।  विराटनगरमा आइतबार सम्पन्न संघको वार्षिक साधारण सभाले ४५ वटै जिल्ला क्रिकेट संघहरूलाई २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।  क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार साधारण सभाले एनपीएलको पहिलो र दोस्रो संस्करणको आय-व्यय विवरण पारित गर्दै उक्त नाफाबाट जिल्लाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय लिएको हो । यसका साथै, जिल्लाहरूले सञ्चालन गर्ने कार्यक्रमहरूको प्रभावकारिता र सक्रियताका आधारमा ’स्कोर कार्ड ग्रान्ट’ समेत उपलब्ध गराइने भएको छ । साधारण सभाले संघको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन र सन् २०२६ का लागि तय गरिएको वार्षिक कार्यक्रम, कार्ययोजना तथा बजेटलाई समेत अनुमोदन गरेको छ ।  एसीसी र आईसीसीबाट थप कार्यक्रमहरू आएको खण्डमा बजेट समायोजन गर्ने अख्तियारी केन्द्रीय कार्यसमितिलाई दिइएको छ ।  क्रिकेटरहरूको मनोबल उच्च राख्न क्यानले यसै वर्षदेखि प्रत्येक डिसेम्बरमा क्यान एनुअल अवार्ड घोषणा गर्ने निर्णय पनि गरेको छ ।  जसअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी (पुरुष र महिला) र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । 

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ ।  शिखा एकेडेमी र नेपालगञ्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक प्राप्त गरी शिखा स्कुलले उपाधि जितेको हो ।  प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ललितपुर १०१ अंक ल्याएर दोस्रो र १९ अंक ल्याएर बागेश्वरी एकेडेमी कोहलपुर तेस्रो, ८ अंक ल्याएर सोफिया रेसिडेन्सियल स्कुल नेपालगञ्ज चौथो र ५ अंक ल्याएर लुम्बिनी वल्र्ड स्कुल रुपन्देही पाँचौं भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिए ।  प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलबाट ६÷६ वटा स्वर्ण पदक जितेर छात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य सर्वोत्कृष्ट खेलाडी घोषणा भए ।  प्रतियोगितामा देशभरिका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीले भाग लिएका थिए ।   कार्यक्रममा आयोजक शिखा एकेडेमीका प्रतियोगिता संयोजक सूर्यमणि अधिकारीले अघिल्लो वर्ष जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको अर्को वर्ष नै राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गर्न पाएको भन्दै खुसी व्यक्त गरे । नेपालगञ्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले आगामी कार्तिक महिनामा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गरे। यसअघि कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले  प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । उपप्रमुख सुवेदीले कोहलपुर नगर क्षेत्रमा विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलका प्रतियोगिताहरू आयोजना गरेर नगरलाई देशभर चिनाउने काम गरिरहेको भन्दै खुसी व्यक्त गरिन् ।

बाँकेका सुकुमबासी बस्ती खाली गरिँदै

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुकुमबासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए । हालसम्म नगरपालिकाको सम्पर्कमा ६० परिवार वास्तविक भूमिहीन सुकुमबासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।  नगरप्रमुख आचार्यका अनुसार वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास) जग्गा अतिक्रमण गरी सात साय ५१ परिवार घरटहरा बनाएर बसिरहेका छन् ।  तीमध्ये अव्यवस्थित बासोबासी ४ सय १६, भूमिहीन दलित एक सय ७२ र भूमिहीन सुकुमबासी एक सय ६३ जना रहेको उनले बताए ।  ‘बस्ती विकास तथा बसोबासका क्रममा केही व्यक्ति तथा विचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधि भएको भनेर उजुरी पनि आएका छन् । सो सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान जारी छ’ , उनले भने ।   यसैबीच, नगर क्षेत्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक सुकुमवासी तथा भूमिहीन दलितको पहिचान गर्न सुरु गरिएको छ ।  नगरपालिकाले एउटा अभिलेख व्यवस्थापन समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गाजमिन भए नभएकोलगायत विषय अध्ययन गरिरहेको छ ।  त्यहाँ बसिरहेका परिवारको तथ्याङ्क सङ्कलन तथा कागजात प्रमाणीकरणको काम अघि बढाएको समितिका संयोजक सुनिता सुनारले जानकारी दिए । केही व्यक्तिले आफूलाई भूमिहीन दाबी गरे पनि अन्यत्र घरजग्गा रहेको तथ्य भेटिए त्यस्ता व्यक्तिलाई सूचीबाट हटाइने उनले बताए ।  ‘गत वर्ष उक्त स्थानका ७ सय ५१ जना भूमिहीन सुकुमवासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित एक सय ५३ जना र भूमिहीन सुकुमवासी एक सय ४१ जना रहेका छन्’ , संयोजक  सुनारले भने ।