संसद विघटन असंवैधानिक भनेको एमालेले आव्हान गर्यो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्दैछ । बैठकका एजेन्डा प्रतिनिधि सभा विघटनको संवैधानिकता तथा यसबारे अदालतमा जाने–नजाने निर्णयमा केन्द्रित रहने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार पार्टीले प्रतिनिधि सभा विघटनलाई सुरुदेखि नै असंवैधानिक ठहराउँदै विभिन्न चरणमा जनपरिचालन जारी राखे पनि कानुनी चुनौती भने नदिएको भन्ने आलोचना बढिरहेको छ । नागरिक समाज र बुद्धिजीवी समूहबाट अदालतमा मुद्दा हाल्न दबाब आएपछि एमाले नेतृत्व यस विषयमा निष्कर्ष निकाल्न बाध्य बनेको बताइएको छ । बैठकले अब पार्टीले विघटनविरुद्ध कानुनी लडाइँ थाल्ने कि राजनीतिक आन्दोलनमै सीमित रहने भन्ने विषयमा औपचारिक निर्णय लिने बर्तौलाले जानकारी दिए ।

मंगलबार पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै

काठमाडौं । पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको प्रदर्शन गरिँदै छ ।  पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना आदि सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । यही परम्पराअनुसार आज बिहान १०ः०० देखि ११ः३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । त्यसैगरी, मार्गशीर्ष कृष्ण आमावास्याका दिन मङ्सिर ४ गते बिहीबार बिहान ९ः०० देखि ११ः४५ बजेसम्म पनि सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहना देखाइने उनले बताए । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन विगत एक वर्ष सुरक्षित रूपमा यी सामग्री राखिएको र मार्गशीर्ष कृष्ण आमावास्याका दिन आगामी एक वर्ष यी सामग्री सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जनाएको छ ।  

आज चितवन राइनोज र कर्णाली याक्स, विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल) मा आज २ खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र  पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् ।  यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएर काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौंले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले १ करोड १० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।