क्रिकेट : अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाल सामू जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।       र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव तीन ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । एक सय ५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमायो ।      अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले । अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए । साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।      कुनै समय बलियो अवस्था रहेको अमेरिकाको पारीलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए । साथै सन्दीप लामिछाने र गुलशन झाले एक/एक विकेट लिए । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।          आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।          नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।       

प्रहरी महानिरीक्षक कार्कीद्वारा रचयिता ‘अब बन्छ मेरो देश’ गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक भएको छ ।  गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ । गीतमा दिपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापा लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।  किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ ।  साथै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा यसअघि सार्वजनिक भएका 'आमा म त खरानीबाट उठेर आए' प्रहरी कर्मचारीहरूको जोखिमपूर्ण जिम्मेवारी र निस्वार्थ सेवाभावमा आधारित मर्मस्पर्शी गीत, 'फूलको बास्ना सरी' प्रहरीका दुःख, भावना र जनताप्रति खटिने चाहना समेटिएको गीत लगायत दशैं, तिहार, बाल र कमर्सियल गीतहरू समेत सर्वसाधारणले निकै रूचाएका थिए ।  

चलचित्रकर्मीहरूको श्रद्धाञ्जलीका लागि कर्रा हस्तान्तरण

काठमाडौं । चलचित्रकर्मीहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् । कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटलाई पाशुपत क्षेत्रमै कलाकार सविन श्रेष्ठ र अनु शाहले सामग्री हस्तान्तरण गरेका हुन् । महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविनले आफ्नै खर्चमा चलचित्रकर्मीहरूको अन्तिम यात्रामा सम्मानजनक र व्यवस्थित ढंगले श्रद्धाञ्जली अर्पण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरणपछि श्रेष्ठले चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने तितो यथार्थले आफूलाई दुःखी बनाउने गरेको बताए । सोही अनुभूतिपछि आफू यस कार्यमा अग्रसर भएको उनले उल्लेख गरे । उनले यो सामग्री चलचित्रकर्मी, पत्रकार लगायत आवश्यक परेका अन्य व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने जानकारी दिए । जन्म र मृत्यु अन्तिम सत्य रहेको उल्लेख गर्दै अभिनेत्री अनु शाहले चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम श्रद्धाञ्जलीका लागि आवश्यक व्यवस्थापन हुने यस सामाजिक कार्यमा आफू जोडिन पाउँदा खुशी लागेको बताइन् । पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटले कलाकार सविन श्रेष्ठबाट भएको यस सामाजिक कार्यले पशुपतिमा अन्तिम संस्कार हुने चलचित्रकर्मीहरूको बिदाइ व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । सविन श्रेष्ठले सुदीप पन्त र नरेश कुँवरको सहयोगमा उक्त सामग्री तयार पारिएको जानकारी दिए ।