प्रभु म्यानेजमेण्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ
काठमाडौं । प्रभु म्यानेजमेण्ट प्रालिका पूर्व सेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–८ का स्थायी बासिन्दा रहेका ५१ वर्षीय महाजुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट १० लाख रुपैयाँ ननाघ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँका दरले बारम्बार शंकास्पद रकम जम्मा भएको पाइएको छ । रेमिट कारोबारको क्रममा कम्पनीले रकम भुक्तानी मात्र गर्नुपर्ने भए पनि सोही खातामा एकै दिनमा पटक–पटक अस्वाभाविक रूपमा रकम जम्मा भएको उल्लेख गरिएको छ । उक्त खातामार्फत रेमिट कारोबारको आवरणमा हुण्डीमार्फत नेपालमा पठाइएको अवैध विप्रेषण रकम प्राप्त गरी हिसाब मिलान गरिएको प्रमाण अनुसन्धानबाट भेटिएको प्रहरीको दाबी छ । सोही कार्यमा संलग्न खाता सञ्चालकमध्येका एकका रूपमा महाजुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी
दमौली । मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक ६ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक ६ सय जना मजदुर खटिएका हुन् । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी पाएका छन् । उनले यस खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका जानकारी दिए । पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको कुँवरले उल्लेख गरे । उनका अनुसार ३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ । उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको बताए । उक्त पुलमा ४७ दशमलव ५२ प्रतिशत भौतिक र ४७ दशमलव नौ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ । उनले हालसबै सबै चार वटा पाइलक्याप, एक सय २० वटा पाइल निर्माण सम्पन्न भएका जानकारी दिए । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र सम्पन्न भएको छ । यहाँ ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम सम्पन्न भइसकेका छन् । कुँवरका अनुसार ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा एउछा बाँकी छ भने ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको छ । विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ गतेसम्म रहेको छ ।
रवि लामिछानेको रिटमा बुटवल उच्च अदालतमा आजको सुनुवाइ स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका कानुन व्यवसायीको आग्रहपछि बुटवल उच्च अदालतमा दायर रिट निवेदनमाथिको आज निर्धारित सुनुवाइ स्थगित गरिएको छ । गोला प्रणालीअनुसार तीन नम्बर इजलासमा न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा मुद्दा परे पनि स्थगन माग गरेपछि पेसी अगाडि बढ्न नसकेको हो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको पेसी बिहीबारका लागि तोकिएको थियो । एकै दिन पाटन उच्च अदालतमा पनि लामिछानेसम्बन्धी मुद्दा परेकोले, कानुन व्यवसायीले बुटवलमा स्थगन माग गरेका हुन् । अदालतका उप–रजिष्टार यज्ञमूर्ति ज्ञवालीका अनुसार सोही माग स्वीकृत गरिँदै सुनुवाइ स्थगित गरिएको हो । यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको मूल अभियोग मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको थियो । सो मिसिल प्राप्त हुने अपेक्षासहित आजको पेसी तोकिएको भए पनि सुनुवाइ स्थगित भएपछि अब अर्को मिति पुनः निर्धारण गरिने अदालतले जनाएको छ ।