४ पटकको विश्वविजेता जर्मनीलाई पराजित गर्दै पाराग्वे अन्तिम १६ मा

काठमाडौं  । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणबाटै बाहिरिएको छ ।  बोस्टन स्टेडियममा सोमबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४औँ मिनेटमा काइ हाभेर्ट्जले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न सकेनन् ।  अतिरिक्त समयमा जर्मनीले जोनाथन टाहमार्फत गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिदिएको थियो । उक्त निर्णय खेलको सबैभन्दा विवादास्पद क्षण बन्यो । पेनाल्टी सुटआउटमा र्मनीका काइ हाभेर्ट्ज, निक वोल्टेमाडे र जोनाथन टाह गोल गर्न असफल भए । पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले दुई महत्वपूर्ण पेनाल्टी बचाउँदै टोलीलाई ऐतिहासिक जित दिलाए । अन्तिम निर्णायक पेनाल्टी होसे कानालेले सफलतापूर्वक प्रहार गर्दै पाराग्वेको जित सुनिश्चित गरे । यो हारसँगै जर्मनी पहिलो पटक पुरुष विश्वकपको इतिहासमा पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अर्कोतर्फ, पाराग्वेले विश्व फुटबलकै एक ठूलो उलटफेर गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अब पाराग्वेले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

जापानलाई पराजित गर्दै विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौं । फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापानलाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको  ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।

भाइरल बस-बाइक दुर्घटनाको वास्तविकता के हो ?

काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक भएपछि घटनालाई लिएर विभिन्न अड्कलबाजी र टिप्पणीहरू भइरहेका छन् । ट्वीटर प्रयोगकर्ता निर्मल पर्साईले भिडियो पोस्ट गर्दै लेखेका छन्, 'अगाडि क्लियर बाइक देखिन्छ, देख्दादेख्दै बाइकमाथि बस चढाउँछ। यो दुर्घटना होइन, जानाजान हत्या प्रयास हो ।'  यस्तै, अर्का एक ट्वीटर प्रयोगकर्ताले पनि यातायात समितिको संरक्षणका कारण यस्ता घटना हुने गरेको आरोप लगाउँदै लेखेका छन्, 'ज्यान मार्ने अभिप्राय नै देखिन्छ । यसलाई हत्या प्रयासको मुद्दामै दर्ता गर्नुपर्छ ।'  भाइरल भिडियोमा भक्तपुरको च्यामसिंह क्षेत्रमा गुडिरहेको बा ४ ख ५७५४ नम्बरको बस अगाडि मोटरसाइकल देखिन्छ । केही क्षणमै बस अगाडि बढ्दै जाँदा बा ०२-०१९ प ४५१९ नम्बरको मोटरसाइकल बसको अगाडि पर्छ र चालक ३८ वर्षीय रञ्जीत थापामगर मोटरसाइकलसहित लडेको देखिन्छ । भिडियोमा घटनास्थलमा रहेका मानिसहरू चिच्याइरहेको आवाज पनि सुनिन्छ। त्यसपछि स्थानीयहरू बस वरिपरि जम्मा भएर बसमुनि हेरेको दृश्य भिडियोमा देखिन्छ । यही भिडियोको वास्तविकता बुझ्न विकासन्युजले जिल्ला प्रहरी परिसर भक्तपुरसँग सम्पर्क गरेको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार घटना आइतबार दिउँसो करिब ३:३० बजे भएको हो । उक्त बस ग्यारेजबाट निकालेर सडकमा ल्याइँदै थियो । उनका अनुसार बस सडकमा निस्किएर अगाडि बढ्ने क्रममा अचानक मोटरसाइकल बसको अगाडि आइपुगेको थियो । प्रारम्भिक अनुसन्धानमा बसको हाइड्रोलिक ब्रेकमा समस्या देखिएको र सोही कारण दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ । प्रवक्ता जबेगुले बस चालक ४८ वर्षीय शम्भु गिरी र मोटरसाइकल चालकबीच आपसी समझदारी भएको जानकारी दिए । बस चालकको तर्फबाट मोटरसाइकलमा भएको क्षतिको मर्मत गरिदिने सहमति भएको छ । प्रहरीका अनुसार घटनामा मानवीय क्षति भएको छैन । यद्यपि बसमा प्राविधिक समस्या कसरी आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।