काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ ।
आयोगका प्रवक्ता गणेश केसीले सम्पत्तिको विवरण बुझाउनेहरू विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको जानकारी दिए ।
‘सम्पत्ति विवरण बुझाउन समय थप्न माग गरेकाले समय थपिएको हो,’ उनले विकासन्युजसँग भने ।
आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो । त्यतिबेलाको सूचनाअनुसार जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने थियो ।
आयोगका अनुसार हालसम्म करिब ३ हजार ५०० जनाले सम्पत्ति विवरण बुझाएका छन् ।
केसीका अनुसार आजै सम्पत्ति विवरण बुझाउनेहरूको चाप र सहजतालाई मध्यनजर गरी अन्तिम पटकलाई म्याद थप गरी मौका दिइएको हो ।