एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, अब पाराग्वेसँग भिड्ने
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । बुधबार बिहान न्यु जर्सी स्टेडियममा सम्पन्न खेलमा कप्तान केलियन एम्बाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए । यो जितसँगै उपाधि दाबेदार फ्रान्सले अन्तिम १६ मा जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अघि बढेको पाराग्वेसँग भेट पक्का गरेको छ । फ्रान्सले खेलभर बल नियन्त्रण र आक्रमणमा स्पष्ट वर्चस्व कायम राख्यो । पहिलो हाफको इन्जुरी समयमा एम्बाप्पेले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोलको खाता खोले । त्यसअघि पनि उनले एक प्रहार पोस्टमा लागेका थिए भने अर्को गोल अफसाइडका कारण मान्यता पाउन सकेको थिएन । खेलको ५३औं मिनेटमा माइकल ओलिसेको सटिक पासमा बार्कोलाले शक्तिशाली प्रहार गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि ७४औं मिनेटमा फेरि ओलिसेको सिर्जनात्मक पासलाई सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेलको नतिजा सुनिश्चित गरे । ओलिसेले खेलमा दुई असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे । यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याएका छन् । यससँगै उनी गोल्डेन बुटको दौडमा लियोनेल मेसीको बराबरीमा पुगेका छन् । साथै विश्वकप इतिहासमा उनको कुल गोल संख्या १८ पुगेको छ, जसले उनलाई सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा मेसीभन्दा केवल एक गोलले पछि राखेको छ । फ्रान्स लगातार प्रभावशाली प्रदर्शन गर्दै उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेको छ । प्रशिक्षक डिडिएर डेसच्याम्प्सको टोलीले समूह चरणपछि नकआउटको पहिलो खेलमा पनि उत्कृष्ट लय कायम राख्दै स्विडेनलाई कुनै मौका नदिई अन्तिम १६ को यात्रा तय गरेको हो ।
भक्तपुरमा डेरा गरेर बस्ने पशुपति क्षेत्रमा आएर लुटपाट गर्ने दुई भारतीय पक्राउ
काठमाडौं । सार्वजनिक यातायात तथा पशुपति मन्दिर क्षेत्रमा लुटपाट गर्ने दुई जना भारतीय पक्राउ परेका छन् । भारत गोरखपुर घर भई हाल भक्तपुर बस्ने ३४ वर्षीय रन्जीत चौधरी र सिसवा घर भएका भक्तपुर ४५ वर्षीय शान्ति चमार रहेका छन् । उनीहरूले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको तथा पशुपति नाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको सुनचाँदीका गरगहना लुट्ने गरेका थिए । दुई जना भारतीय नागरिकहरूलाई चोरी गरिएको सुनचाँदीका गरगहना, नगद र मोबाइल सहित प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । सुनको सिक्री लकेट थान- १ सुनको झुम्का थान-४ सुनको मुन्द्रा थान- ६ पोते सहित सुनको मङ्गलसूत्र थान-१ चाँदीको औँठी थान- १ चाँदीको सिक्का थान- १ चाँदीको पाउजु थान-४ चाँदीको सिक्री थान-१ चाँदीको खुट्टामा लगाउने बिच्छी थान- २ चाँदीको ब्रासलेट थान १ नेपाली नगद रु १,१५,५०० भारतीय रुपैयाँ ८०,००० विभिन्न कम्पनीका मोबाइलहरू थान- ६ भारतीय प्यान कार्ड थान- २ आधार कार्ड थान- १ जैविक कृषि बिस्तार योजनाको कार्ड थान- १ १८. खोप कार्ड थान- १ चाँदीको लकेट थान - १
अमेरिकी दूतावासद्वारा प्रहरीलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण हस्तान्तरण
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू उपलब्ध गराएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रमबीच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासको लागि उन्नत डिजिटल फरेन्सिक उपकरणहरू, विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको बताए। यस किसिमका सहयोगहरू दुई देश बिचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब समेत भएको उनको भनाइ छ । प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ती, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवम् सहजीकरण हुने बताए । यस्ता उपकरणहरूको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मद्दत पुग्ने विश्वास उनले विश्वास व्यक्त गरे । कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, अमेरिकी राजदुतावासका प्रतिनिधिहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।