मध्यवानेश्वरमा सुनका गहना चोरी गर्ने सागर विश्वकर्मा पक्राउ
काठमाडौं । नेपाल प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घरको कोठा फार्न प्रयोग हुने विभिन्न सामान र चोरीका सामानसहित विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ विश्वकर्मासँग प्रहरीले एक थान खुकुरी, सुनको औँठी एक थान, सुनको बाला एक थान, सुनको झुम्का एक थान, मोतीको माला एक थान, सुनको पाउजु एक थान, चाँदीको सिक्का एक थान बरामद गरेको छ । यस्तै, विदेशी मुद्राको सिक्का २२ थान, फलामको रेन्ची दुई थान, सोनी कम्पनीको क्यामेरा दुई थान, क्यामेराको चार्जर दुई थान, भिडियो प्लेयर एक थान, मेमोरी कार्ड एक थान, सुनचाँदीको विल २७ थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका विश्वकर्मालाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा भण्डारी निर्वाचित
काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको दोस्रो सम्मेलन शुक्रबार अनामनगर, काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले अधिवक्ता रामचन्द्र भण्डारीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नव–निर्वाचित समितिमा उपाध्यक्षमा थरी कडेल, सचिवमा सान्तना दाहाल न्यौपाने, कोषाध्यक्षमा प्रचन्न नाउला चयन भएका छन् । साथै ११ सदस्यीय कार्यसमितासहित उपत्यकाका सातवटै बारका विशेष जिल्ला कमिटिका अध्यक्षहरू पदेन सदस्यका रूपमा समावेश गरिएको संगठनले जनाएको छ । पदेन सदस्यमा सर्वोच्च अदालत बार, उच्च अदालत पाटन बार, ललितपुर जिल्ला अदालत बार, काठमाडौं जिल्ला अदालत बार, विशेष अदालत बार, भक्तपुर जिल्ला अदालत बार तथा काभ्रेपलाञ्चोक जिल्ला अदालत बारका अध्यक्षहरू रहनेछन् । अध्यक्षमा निर्वाचित रामचन्द्र भण्डारी पछिल्ला २२ वर्षदेखि कानुन व्यवसायमा निरन्तर क्रियाशील व्यक्तित्व मानिन्छन् । संगठनको आन्तरिक जीवन, पेशागत अनुभव तथा इमानदार छविका कारण भण्डारीले पाएसँगै संगठनभित्र नयाँ उत्साह पैदा भएको टिप्पणी गरिएको छ । कानुनी क्षेत्रमा सक्रिय भण्डारीको नेतृत्वले न्यायक्षेत्रमा समेत सशक्त भूमिका खेल्ने अपेक्षा राखिएको छ ।
कृष्णसार एफएम ‘जेसी च्याम्पियन मिडिया २०८२’ बाट सम्मानित
काठमाडौं । नेपालगन्जमा रहेको रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जले ‘लैंगिक समानता र सामाजिक समावेशिता पुरस्कार २०८२’ (जेसी च्याम्पियन मिडिया) प्राप्त गरेको छ । समुदायका लागि सञ्चार अभियान नेपालद्वारा सञ्चालित यस एफएमलाई नेपालमा लैंगिक समानता तथा समावेशितामूलक पत्रकारिताको प्रवर्द्धनमा देखाएको प्रभावकारी भूमिका, नवीन पहल र निरन्तर अभ्यासको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो । सम्मानपत्रमा समाचार कक्षमा महिलाको सक्रिय सहभागिता, समावेशी भर्ना प्रक्रिया, लैंगिक तथा सामाजिक समावेशीकरण नीतिको कार्यान्वयन, महिलासम्बन्धी मुद्दाको प्राथमिकता, गुनासो व्यवस्थापन संरचना, अपाङ्ग–मैत्री पूर्वाधार, र पत्रकार सुरक्षा जस्ता विषयमा रेडियोले अपनाएका नमूना अभ्यासहरू विशेषरूपमा प्रशंसनीय रहेको उल्लेख छ । उपलब्धि सम्मानित गर्न राजधानीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले रेडियोका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक तुला अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, महासंघकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दिपक आचार्य लगायतको सहभागिता थियो । आयोजकका अनुसार सम्मान छनोट समिति मार्फत् तोकिएको विभिन्न सूचकका आधारमा उत्कृष्ट संस्थाहरूको मूल्यांकन गरिने र सोही प्रक्रियाबाट कृष्णसार एफएमलाई यस वर्षको अवार्डका लागि छनोट गरिएको हो ।