विनियोजन विधेयक जनतासँगका प्रतिवद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयास हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई जनतासँग गरिएको प्रतिवद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रुपमा बुझिदिन सांसदहरूलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।  अर्थमन्त्री वाग्लेले सो विधेयक सरकारले विभिन्न राजनीतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको बताए । उनले उक्त विधेयक सरकारको दृष्टिकोण मात्रै नभएर संविधान, योजना, दिगो विकास, विभिन्न राजनीतिक दलका घोषणा पत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकांक्षालाई समेटिएको जिकिर पनि गरे ।   अर्थमन्त्री वाग्लेले भने, ‘यो विधेयकले केवल सरकारको दृष्टिकोणको मात्रै प्रतिनिधित्व गर्दैन । यसले संविधानको निर्देशक सिद्धान्त, योजना, दिगो विकास, विभिन्न राजनीतिक दलका घोषणा पत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकांक्षालाई समेट्ने प्रयास गरेको छ ।’ त्यस अवसरमा अर्थमन्त्री वाग्ले सरकारले राष्ट्र निर्माणमा बहसमा केन्द्रित भएर अघि बढ्न पनि सांसदहरूलाई आह्वान गरे ।      

हिमालय स्पोर्टस् च्यानल र डीगो एप सार्वजनिक, विश्वकप २०२६ नेपालमै हेर्न पाइने

काठमाडौं । एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो ।  अब नेपाली दर्शकले हिमालय स्पोर्टस् टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन् । नेपालभित्र यी दुई प्लेटफर्मबाहेक अन्य कुनै माध्यमबाट विश्वकप हेर्न नपाइने जनाइएको छ । नेपालका लागि फिफा प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले टेलिभिजनतर्फ हिमालय स्पोर्टस् र हिमालय टेलिभिजन तथा मोबाइल एपतर्फ डीगो एपसँग एक्सक्लुसिभ प्रसारण सम्झौता गरेको हो । सम्झौतापछि एसप्रो मिडियाका अध्यक्ष सोम धितालले नेपाली दर्शकले अब नेपाली टेलिभिजन र मोबाइल एपमै विश्वकप हेर्न पाउने वातावरण बनेको बताए । उनले विदेशी च्यानलमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको उल्लेख गरे । हिमालय स्पोर्टस् र डीगो एप सार्वजनिक सोही अवसरमा हिमालय टेलिभिजनको खेलकुद विशेष च्यानल ‘हिमालय स्पोर्टस्’को औपचारिक शुभारम्भ पनि गरिएको छ । हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल तथा हिमालय स्पोर्टस्‌का प्रमुख कार्यकारी अधिकृत सुरज गिरीले च्यानलको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष भुसालले हिमालय टेलिभिजनले सब्सक्रिप्सन मोडलमार्फत विश्वस्तरीय कन्टेन्ट नेपालमा प्रसारण गर्ने नयाँ अध्याय सुरु गरेको बताए । त्यस्तै, कार्यकारी निर्देशक श्याम कँडेलले खेल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित उत्कृष्ट गुणस्तरमा खेलसम्बन्धी कन्टेन्ट प्रसारण गर्न हिमालय स्पोर्टस् च्यानल सुरु गरिएको जानकारी दिए । सोही समारोहमा डीगो मोबाइल एपको पनि शुभारम्भ गरिएको थियो । यसअघि ‘डिसहोम गो’ नाममा रहेको मोबाइल एपलाई नयाँ प्रविधि र नयाँ स्वरूपसहित ‘डीगो’ नामबाट सार्वजनिक गरिएको हो । डिस मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकाल, निर्देशक सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेलले एपको शुभारम्भ गरेका थिए ।  अध्यक्ष ढकालले प्रविधि, बजार र दर्शक एकैसाथ तयार रहेको अवस्थामा लगानीका हिसाबले यो सुनौलो अवसर भएकाले डीगोलाई फिफा विश्वकपसँगै नयाँ स्वरूपमा सार्वजनिक गरिएको बताए । उनले विश्वभर रहेका नेपालीलाई कन्टेन्टमार्फत जोड्ने उद्देश्यसहित डीगो अघि सारिएको उल्लेख गरे । कार्यक्रममा हिमालय स्पोर्टस्‌का सीईओ तथा निर्देशक सुरज गिरी र डीगोका प्रमुख सञ्चालन अधिकृत रोशन निरौलाले टेलिभिजन प्रसारण, मोबाइल एप तथा अन्य प्राविधिक पक्षबारे जानकारी दिएका थिए ।   यस्तो छ ग्राहक शुल्क  फिफा विश्वकप हेर्न दर्शकले टेलिभिजनमा हिमालय स्पोर्टस् च्यानल सब्सक्राइब गर्नुपर्नेछ । टेलिभिजनमा विश्वकप हेर्न प्रति सेटअप बक्स ९ सय ९९ रुपैयाँ (करसहित) शुल्क लाग्नेछ । हाल अर्ली बर्ड अफरअन्तर्गत डीगो एपमार्फत सीमित अवधिका लागि ७ सय ९९ रुपैयाँमा ग्राहक पास खरिद गर्न सकिने जनाइएको छ । मोबाइलबाट मात्रै हेर्न चाहने दर्शकका लागि ५ सय ४९ रुपैयाँ (करसहित) शुल्क तोकिएको छ ।  उल्लेखित शुल्क तिरेपछि दर्शकले विश्वकपका सबै १ सय ४ खेल हेर्न पाउनेछन् । टेलिभिजनको ग्राहक बन्न सम्बन्धित केबल अपरेटर वा टेलिभिजन सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने जनाइएको छ ।   

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम चौबीस क्यारेटको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्र्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ ५ः१० बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त सुनसहित २० हजार अमेरिकी डलर (नेपाली रु ३० लाख ६५ हजार) र ८५ हजार ४१९ भारतीय रुपैयाँ (नेपाली एक लाख ३६ हजार ६५७) समेत बरामद गरिएको बताए । पक्राउ परेका भारतीय नागरिकबाट सवारीचालक अनुमति, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्डडिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको जनाइएको छ । पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र आजै झापा जिल्ला अदालतमा पेस गरिने बताइएको छ । निज पाठक भारतको पानीटङ्कीनाकाबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गर्दा भन्सारको जाँच क्रममा पक्राउ परेका थिए । सशस्त्र प्रहरी टोली र मेची भन्सार कार्यालयका कर्मचारीहरूले शङ्का लागेर संयुक्त जाँच गर्दा भारतीय नागरिक पाठकले बोकेको कालो झोलाभित्र अवैध सुन र विदेशी मुद्रा फेलापरेको थियो ।