दुई वटा स्वचालित पेस्तोलसहित एक जना नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट दुई वटा स्वचालित पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्यलाई उक्त पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको छ । बरामद पेस्तोल तथा अन्य सामानसहित निजलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
मोरङमा ४४ हजार नयाँ मतदाता थपिए
मोरङ । मोरङमा ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो । यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका माध्यमबाट नाम दर्ता गराएका हुन् । अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।
फोहरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका, ७ लाख आम्दानी
तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा सात लाख रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन गर्दै आएको छ र कुहिने फोहरलाई गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरिन्छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, 'व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गरिन्छ ।' कार्यालयका अनुसार आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रूपैयाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ । नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको हो । कुहिने फोहरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ । नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट राम्रो आम्दानी स्रोत बनाउन थालेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । रासस