इजिप्टलाई ३–२ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले २०२६ फिफा विश्वकपको अन्तिम–१६ मा रोमाञ्चक पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ । 

दुई गोलले पछि परेको अवस्थामा शानदार कमब्याक गर्दै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।

अटलान्टास्थित रंगशालामा भएको खेलमा इजिप्टका यासेर इब्राहिमले १५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७औं मिनेटमा मोस्तफा जिकोले गोल थपेपछि अर्जेन्टिना २–० ले पछि परेको थियो ।

तर त्यसपछि अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्यो । ७९औं मिनेटमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अन्तर घटाए । त्यसको चार मिनेटपछि कप्तान लियोनेल मेस्सीले बराबरी गोल गरे । इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए ।

खेलमा इजिप्टले लामो समयसम्म उत्कृष्ट रक्षात्मक प्रदर्शन गरे पनि अन्तिम १५ मिनेटमा अर्जेन्टिनाको आक्रामक दबाब थेग्न सकेन। मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले लगातार तीन गोल गर्दै विश्वकप उपाधि रक्षा अभियानलाई जीवित राख्न सफल भयो।

अर्जेन्टिनाले अब स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Share News