सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन् । त्यसक्रममा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनको परिधिभित्र रही आफू र आफ्नो सङ्गठन सधैँ शान्ति सुव्यवस्था कायम गर्न दत्तचित्त भई खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच, गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका घाइते तथा जेनजी प्रतिनिधिसँग भेट गरेका छन् । भेटमा घाइतेहरुले उपचारको प्रबन्ध र जेनजीका न्यायोचित मागको सम्बोधन गरिदिन आग्रह गरेका थिए ।
सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त
काठमाडौं । सोमानी सेरामिक्सले नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्रान्ड फेसको रूपमा पारस खड्का सोमानी सेरामिक्सका टायल्स, बाथवेयर, एडहेसिभ र वाटरप्रूफिङ लगायतका सम्पूर्ण उत्पादनहरूको प्रवर्द्धन सम्बन्धी विभिन्न गतिविधिमा सहभागी हुने कम्पनीले जनाएकाे छ । सहकार्यको प्रसङ्गमा सोमानी सेरामिक्सका सह-अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, 'पारस खड्काको लगनशीलता र उत्कृष्टताको यात्रा हाम्रो नवीनता र नेतृत्वका सिद्धान्तसँग मेल खान्छ । नेपाल लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारमध्ये एक हो र पारसको विश्वसनीयता तथा जनसम्पर्कले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्ष्यलाई अझ सुदृढ बनाउनेछ ।' त्यसैगरी, सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस खड्कालाई 'नेपालमा घर-घरमा चिनिएको नाम' भन्दै प्रशंसा गरे । उनले भने, 'पारस केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारी र सकारात्मक प्रभावका कारण पनि सबै पुस्तामा लोकप्रिय छन् । युवादेखि परिवारसम्म सबैमा उनी मनपर्ने व्यक्तित्व हुन्, जसले सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नेछन् ।' पारस खड्काले पनि सोमानीसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, 'मैले जस्तै उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग काम गर्न पाउनु गर्वको कुरा हो । सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको प्रतीक हो, र मैले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको छु।' कम्पनीका अनुसार यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ ।
एनपीएलका सबै खेल ‘डिशहोम गो’ एपमार्फत प्रत्यक्ष हेर्न सकिने
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू सो एपमार्फत लाइभ प्रशारण गरिने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओटीटी प्रसारण अधिकार ‘डिश मिडिया नेटवर्क’ लाई प्रदान गरेको हो । क्यानका अनुसार दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ । नेपालभित्रका दर्शकले ३०० रुपैयाँ, मिडल इस्ट क्षेत्रका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिने व्यवस्था गरिएको छ । यसपटक दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि क्यानले जनाएको छ । ‘डिशहोम गो’ एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै सब्स्क्रिप्सन लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ संस्करणको एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ भने आईओएस प्रयोगकर्ताका लागि एप केही दिनभित्र सार्वजनिक हुनेछ । उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न ‘डिशहोम’ ले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ । मोबायोटिक्स बहुप्रयोगकर्ता–मैत्री अनलाइन स्ट्रिमिङ प्रणाली निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । यसले तयार पारेको प्लेटफर्ममार्फत बंगलादेश र भारतबीचको आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल एकैपटक २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए । त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा ‘हटस्टार’ सँग सहकार्य गर्दै आइपिएलको डिजिटल प्रसारण सम्भव बनाउँदै आएको छ । अकामाईले विश्वभरका सर्भरमार्फत सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्याउने काम गर्छ ।