जापानलाई पराजित गर्दै विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश
काठमाडौं । फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापानलाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।
भाइरल बस-बाइक दुर्घटनाको वास्तविकता के हो ?
काठमाडौं । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक भएपछि घटनालाई लिएर विभिन्न अड्कलबाजी र टिप्पणीहरू भइरहेका छन् । ट्वीटर प्रयोगकर्ता निर्मल पर्साईले भिडियो पोस्ट गर्दै लेखेका छन्, 'अगाडि क्लियर बाइक देखिन्छ, देख्दादेख्दै बाइकमाथि बस चढाउँछ। यो दुर्घटना होइन, जानाजान हत्या प्रयास हो ।' यस्तै, अर्का एक ट्वीटर प्रयोगकर्ताले पनि यातायात समितिको संरक्षणका कारण यस्ता घटना हुने गरेको आरोप लगाउँदै लेखेका छन्, 'ज्यान मार्ने अभिप्राय नै देखिन्छ । यसलाई हत्या प्रयासको मुद्दामै दर्ता गर्नुपर्छ ।' भाइरल भिडियोमा भक्तपुरको च्यामसिंह क्षेत्रमा गुडिरहेको बा ४ ख ५७५४ नम्बरको बस अगाडि मोटरसाइकल देखिन्छ । केही क्षणमै बस अगाडि बढ्दै जाँदा बा ०२-०१९ प ४५१९ नम्बरको मोटरसाइकल बसको अगाडि पर्छ र चालक ३८ वर्षीय रञ्जीत थापामगर मोटरसाइकलसहित लडेको देखिन्छ । भिडियोमा घटनास्थलमा रहेका मानिसहरू चिच्याइरहेको आवाज पनि सुनिन्छ। त्यसपछि स्थानीयहरू बस वरिपरि जम्मा भएर बसमुनि हेरेको दृश्य भिडियोमा देखिन्छ । यही भिडियोको वास्तविकता बुझ्न विकासन्युजले जिल्ला प्रहरी परिसर भक्तपुरसँग सम्पर्क गरेको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार घटना आइतबार दिउँसो करिब ३:३० बजे भएको हो । उक्त बस ग्यारेजबाट निकालेर सडकमा ल्याइँदै थियो । उनका अनुसार बस सडकमा निस्किएर अगाडि बढ्ने क्रममा अचानक मोटरसाइकल बसको अगाडि आइपुगेको थियो । प्रारम्भिक अनुसन्धानमा बसको हाइड्रोलिक ब्रेकमा समस्या देखिएको र सोही कारण दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ । प्रवक्ता जबेगुले बस चालक ४८ वर्षीय शम्भु गिरी र मोटरसाइकल चालकबीच आपसी समझदारी भएको जानकारी दिए । बस चालकको तर्फबाट मोटरसाइकलमा भएको क्षतिको मर्मत गरिदिने सहमति भएको छ । प्रहरीका अनुसार घटनामा मानवीय क्षति भएको छैन । यद्यपि बसमा प्राविधिक समस्या कसरी आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल एसबीआई बैंकको फुटसल प्रतियोगितामा १५० भन्दा बढी कर्मचारी सहभागी
काठमाडौं । नेपाल एसबीआई बैंकले ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडी कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ । कर्मचारीबीच आपसी सहकार्य, टोली भावना र स्वस्थ कार्यसंस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सातै प्रदेश र केन्द्रीय कार्यालयका कर्मचारी सहभागी भएका हुन् । असार १४ गते काठमाडौंको धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा प्रदेश कार्यालय तथा केन्द्रीय कार्यालयका टोलीबीच पुरुषतर्फ प्रतिस्पर्धा भएको थियो । साथै बैंकको व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेलसमेत आयोजना गरिएको थियो । प्रतियोगितामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दसहित वरिष्ठ व्यवस्थापन टोलीको सहभागिता रहेको थियो । देशभरबाट १५० भन्दा बढी कर्मचारी सहभागी भएको प्रतियोगिताले कर्मचारीबीचको सम्बन्ध थप मजबुत बनाएको बैंकले जनाएको छ । प्रतियोगिताको समापन समारोहमा विजेता तथा सहभागी टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत तिवारीले यस्ता कार्यक्रमले कर्मचारीबीच सहकार्य, सहभागिता र संस्थागत एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।