नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक १२ गते एकैदिन आशा लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १५१९.९२ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १८९९.९० रुपैयाँमा भएको थियो । त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । पछिल्लो कारोबारमा प्रतिकित्ता १५९० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता १२७२ रुपैयाँ कायम भएको छ । यससँगै, अबको कारोबारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यदेखि नै हुने छ ।
उन्नति सहकार्य लघुवित्तले ३२ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक १२ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले नगद नभई बोनस सेयर मात्रै दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १७ करोड ३२ लाख रुपैयाँ रहेको छ । ३२ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी २२ करोड ९५ लाख रुपैयाँ नाघ्ने छ । प्रस्तावित ३२ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा झण्डै दुई गुणा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल १७.८१०३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
मध्य भोटेकोशीको आईपीओः ८ लाख १९ हजारले पाउँदा १५ लाख बढीको हात खाली
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा आज(कार्त्तिक १२ गते) बिहान ९ बजे बाँडफाँड भएको हो । यससँगै उक्त आईपीओ रितपूर्वक आवेदन दिनेमध्ये ८ लाख १९ हजार जना आवेदकले पाएका छन् । उनीहरुलाई १०/१० कित्ताको दरले कूल ८१ लाख ९० हजार कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले असोज २० गते देखि २५ गतेसम्म जारी गरेको आईपीओमा कूल २३ लाख ९० हजार २१८ आवेदकले ३ अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए । जसमध्ये २२ लाख ९४ हजार ४९६ जनाले दिएको आवेदन रितपूर्वक रहेको छ भने बाँकी ९५ हजार ७२२ जनाले दिएको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । यससँगै रितपूर्वक आवेदन दिनेमध्ये ८ लाख १९ हजार आवेदकले कम्पनीको १० कित्ता सेयर पाएका हुन् भने कूल आवेदकमध्ये १५ लाख बढीको हात खाली भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरको ९० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । जसमा कम्पनीले माग गरेकाभन्दा बढी नै आवेदन परेको क्यापिटलले जनाएको छ ।