लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ २५ गते) मंगलबार मात्रै २० लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।
बोर्डको प्राथमिकतामा ७ कामः नयाँ ब्रोकरलाई भित्र्याउनेदेखि एसएमईको लागि छुट्टै प्लेटफर्म स्थापना गर्नेसम्म
काठमाडौं । नेपाली पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड २९औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २८औं वर्ष पार गर्दै बोर्ड आज(जेठ २५गते) देखि नयाँ वर्षमा प्रवेश गरेको हो । हालको कारोनाको महामारीको परिस्थितिलाई ध्यानमा राख्दै बोर्डले आफ्नो २९औं वार्षिकोत्सव अनलाइन (भर्च्युअल माध्यम) मार्फत मनाएको हाे । यो अवसरमा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले हालको बजारको अवस्थाको बारेमा प्रकाश पार्दै आगामी बाेर्डकाे प्राथमिकतामा रहेका कार्यक्रमहरु प्रस्तुत गरेका छन् । उनका अनुसार बोर्डले हाल ७ वटा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यस्ता छन् प्राथमिकतामा रहेका ७ कार्यक्रम बोर्डले आगामी दिनमा कारोबार व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, ऋणपत्र बजारलाई गतिशिल बनाउने, नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने, संस्थागत व्यवसायलाई प्रवर्द्धन गरी सेवालाई प्रतिस्पर्धी एवम् सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिनेछ । पछिल्लो समय कारोबार प्रणालीमा प्राविधिक जोखिम उच्च हुँदै जानुका साथै बजारमा नयाँ लगानीकर्ताहरूको ठूलो संख्यामा प्रवेश तथा कारोवार परिमाणमा उच्च वृद्धि र प्राथमिक बजारमार्फत् पुँजी परिचालन परिमाणमा समेत उच्च वृद्धि हुँदै गएको सन्दर्भमा बजारको बढ्दो माग तथा आपूर्तिलाई प्रभावकारी रूपमा व्यवस्थापन गरी बजारको विश्वसनीयता अभिवृद्धि तथा बढ्दो जोखिम व्यवस्थापन गर्न स्टक एक्सचेञ्जलाई प्रतिष्पर्धी बनाउन आवश्यक पहल गर्नुपर्ने देखिएको छ । त्यस्तै, हालको दोस्रो बजार सञ्चालक नेप्से र केन्द्रीय निक्षेप सेवा तथा कारोवारको राफसाफ तथा फर्छयौट सेवा प्रदायक सिडिएससिको संरचनात्मक सुधार गरी क्षमता अभिवृद्धि गर्दै राफसाफ कोष समेत शिघ्र सञ्चालनमा ल्याउने व्यवस्था गरिनेछ । धितोपत्र बजारलाई प्रतिष्पर्धी एवं विश्वसनीय बनाउने, स्टक एक्सचेञ्जमा कारोबारका लागि एसएमईको लागि छुट्टै प्लेटफर्मको स्थापना गर्ने, नेप्से परिसूचक तथा बजार परिसूचकहरूको गणना विधिमा सुधार गरी यर्थाथपरक बनाउने, वस्तु विनिमय बजार सञ्चालन गर्ने, इक्विटी डेरिभेटिभ्स लगायतका लगानीका उपकरणहरू थप्ने र समग्रमा पुँजी बजारसम्बन्धी सेवाहरूलाई प्रविधिसँग जोड्ने रणनीतिक योजनाकासाथ अघि बढेका छ । यी लक्ष्यहरू उपलब्धीमा परिवर्तन हुँदै गर्दा केही वर्षहरूमा नै नेपालको पुँजी बजार नयाँ युगमा प्रवेश गर्नेमा बोर्ड दृढसंकल्पित रहेको छ । बजारको स्वरूपमा व्यापक परिवर्तन हुँदै गएकोले सर्वसाधारणको पुँजी बजारसम्बन्धी साक्षरता बोर्डको लागि अर्को चुनौति थपिएको छ । साक्षर एवं विवेकशिल लगानीकर्ता तयार पार्नका लागि बोर्डले हालको प्रशिक्षणसम्बन्धी कार्यक्रमको मोडललाई पनि परिवर्तन गर्दै व्यापक र प्रभावकारी बनाउने योजनाका साथ बोर्ड अघि बढेको छ । नेपाल सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट वक्तव्यमार्फत सामूहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गर्ने र लगानीकर्ताहरूले सेयर धारण गरेको अवधिका आधारमा पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने विगत ६/७ वर्ष अघिदेखी बजारबाट निरन्तर रूपमा राखिँदै आएको माग समेत सम्बोधन भएको छ । प्रस्तुत बजेटले पुँजी बजारको विकास र स्थायित्वमा जोड दिइने तथा आगामी वर्षदेखि वस्तु विनिमय बजार कारोबार संचालन गरिने कार्यक्रम समावेश भएकोमा उक्त कार्यक्रम बोर्डले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने/गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
बजार बढ्नुको कारण यस्तो छः अध्यक्ष ढुङ्गाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पुँजीबजारको विकास र विस्तारको लागि बोर्डले चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमा बढ्दै गएको बताएका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष ढुङ्गानाले साे बताएका हुन् । पछिल्लाे समय धितोपत्रको दोश्रो बजारमा सक्रिय लगानीकर्ताको उल्लेख्य वृद्धि भएको बताउँदै उनले कोरोनाको कारण सरकारले घोषणा गरेको लकडाउनको अवधिमा बोर्डको अग्रसरता तथा समन्वयमा नेप्से, सीडीएससीको कारोबार प्रणालीमा सुधार गरी पूर्ण रुपले अनलाइनमा कारोबार गर्न सक्ने व्यवस्था बनाइएको कारण लगानीकर्तालाई लगानी गर्न सहजता भएको जनाएका छन् । साथै, कारोबारको लागत घटाइएको कारणले बजारप्रति सर्वसाधारणको आकर्षण वृद्धि भएको छ । यससँगै, अर्थतन्त्रमा अन्य लगानीको क्षेत्रहरु संकूचन भएको छ । बैंकिङ्ग क्षेत्रमा तरलता प्रर्याप्त रहेकोले पनि दोश्रो बजारका गतिविधिहरु ऐतिहासिक रुपले वृद्धि भएको उनकाे भनाई छ । ‘लामो समयदेखि स्पष्ट नभएको पुँजीगत लाभकर स्पष्ट भएसँगै बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको हो । बजारको बढ्दो स्वरुपका कारण पछिल्लो समय नेपाल सरकारको राजश्वमा पुँजीबजार भरपर्दो श्रोतको रुपमा रहन थालेको छ । गत वर्षसम्म सरकारलाई पुँजीगत लाभकरका रुपमा मुस्किलले एक अर्ब रुपैयाँसम्म योगदान पुर्याउने पुँजीबजार अहिलेको अवस्थामा एक महिनामै एक अर्ब रुपैयाँभन्दा बढी योगदान गर्न सक्षम भएको छ । त्यसैले, सबै क्षेत्रबाट पुँजीबजारको महत्व बढेको छ ।’, उनले भने । हाल दोश्रो बजारको स्थिति पनि उत्साहजनक रहेकाे छ । परिसूचकहरु ऐतिहासिक उचाईंमा पुगेका छन् । नेप्से परिसूचक गत असारमा १३६५ बिन्दुबाट अहिले २९ सय बिन्दुका हाराहारिमा पुगेको छ भने १७ अर्बको हाराहारीमा कारोबार हुन थालेको छ । कूल ग्रहास्थ उत्पादनमा बजार पुँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्रै रहेकोमा हाल कुल ग्रहास्थ उत्पादन बराबर बजार पुँजीकरण पुगेको छ । यसले धितोपत्र बोर्डको बजार र तरलता पनि बढेको पुष्टि गर्दछ । एक वर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या करिब ६ प्रतिशतले वृद्धि हाल ३५ लाख नाघेको छ । मेरो सेयर खाताको संख्या एक वर्ष नपुग्दै तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ । धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले ५ लाख लगानीकर्ताले भाग लिने गरेकोमा हाल करिब १८ लाखले आवेदन दिन सक्ने अवस्थाको सिर्जना भएको छ । २०७७ असारमा धितोपत्र दोश्रो बजार अनलाइन कारोबारको लागि करिब ३५ हजारले मात्रै युजर आईडी लिने गरेकोमा हाल उक्त संख्यामा १७ गुणा बढीले वृद्धि भई हाल ६ लाख ६० हजार भन्दा बढीले अनलाइन कारोबार सुविधा लिएका छन् । औषतमा ६ लाख लगानीकर्ताहरु कारोबार सक्रिय रहेका छन् र लगानीकर्ताहरु क्रमशः प्रविधिमैत्री बन्दै गएका छन् । चालु आर्थिक वर्षको १० महिनामै धितोपत्रको प्राथमिक बजारमार्फत करिब ७८ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन हालसम्मकै उच्च हो ।