नेप्से परिसूचक ९० प्रतिशतले बढ्दा बजार पुँजीकरणमा १०७ प्रतिशतकाे वृद्धि

काठमाडाैं । पछिल्लाे १० महिनामा नेप्से परिसूचक ९० प्रतिशतले बढेकाे छ । गत २०७७ असार मसान्तमा १३६२.४ बिन्दुमा पुगेकाे नेप्से परिसूचक २०७८ काे बैशाख मसान्तमा २६८४.१ बिन्दुमा पुगेको छ । जुन २०७७ बैशाख मसान्तमा १२०१.६ बिन्दुमा रहेको थियो । २०७८ बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रूपैयाँ रहेको नेपाल राष्ट्र बैंककाे तथ्यांकले जनाएकाे छ । २०७८ बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ बैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ५६० अर्ब ८८ करोड रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ को दश महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रूपैयाँ बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड रूपैयाँ बराबरको साधारण शेयर, ४३ अर्ब २० करोड रूपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रूपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड रूपैयाँ बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब २७ अर्ब ४० करोड रूपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले  १७ अर्ब ५४ करोड रूपैयाँ बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड रूपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब ५० करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५ करोड रूपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ४० अर्ब ४३ करोड रूपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

ऋण व्यवस्थापन गर्न युनियन हाइड्रोले हकप्रद सेयर जारी गर्ने, एकैपटक डाक्यो दुई एजीएम

काठमाडौं । युनियन हाइड्रोपावरले एकैपटक दुई वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले आगामी असार २५ गते तेह्रौं (आर्थिक वर्ष २९७५/७६) र चौधौं (आर्थिक वर्ष २०७६/७७) को वार्षिक साधारण सभा गर्न लागेको हो । उक्त सभा सो दिन बिहान ११ बजेदेखि ललितपुरको धोबिघाटस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयबाट भर्च्युअल मार्फत हुने छ । सभाले सञ्चालक समितिमा ६ जनालाई निर्वाचित गर्दै छ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट एक जना महिला सहित ३ जनालाई सञ्चालकमा निर्वाचित गर्न लागेको हो । त्यस्तै, कम्पनीले ऋण व्यवस्थापन गर्नको लागि हकप्रद सेयर जारी गरी पुँजी उठाउने प्रस्ताव सभामा पेश गरेको छ । कम्पनीद्वारा प्रर्वधित मिदिम खोला करापु जलविद्युत आयोजना(३ मेगावाट) को लागि लिइएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासका लागि रकम आवश्यक रहेको हाइड्रोले जनाएको छ । जसको लागि हकप्रद जारी गरी पुँजी उठाउने कम्पनीको प्रस्ताव रहेको छ । सभाले पारित गरेपश्चात कम्पनीले सर्वसाधारणमा हकप्रद सेयर जारी गर्ने छ । सभामा जाने प्रयोजनको लागि संस्थाको असार १५ गतेदेखि असार २५ गतेसम्म बुक क्लोज हुने भएको छ । सम्बन्धित समाचार युनियन हाइड्रोले एकैपटक बोलायो दुई वर्षको साधारणसभा, बुक क्लोज कहिले ?

इन्फिनिटी लघुवित्तले डाक्यो विशेष साधारणसभा, असार ८ गते बुक क्लोज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आगामी असार २१ गते विशेष साधारणसभा आव्हान गरेको छ । सो प्रयोजनको लागि संस्थाले आगामी असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभा असार २१ गते बिहान ९ बजे नवलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बस्दै छ । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तलाई स्वीकृति दिने विशेष प्रस्तावलाई पारित गर्दै छ । नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर दिने गरी स्वाप रेसियो कायम गर्ने गरी सेयर मूल्य अनुपात कायम गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ । त्यस्तै, संस्थाले सभामा बोनस तथा नगद लाभांश र हकप्रद जस्ता कुनै पनि प्रस्ताव लगेको छैन ।