तिहार अघिको सेयर बजारः सामान्य अंकले बढ्यो, तीन शीर्षकमा नबिलको अग्रता

काठमाडौं । तिहार अघिको सेयर बजार सामान्य अंकले बढेको छ । कार्त्तिक १७ गते बुधबारको सेयर बजार ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन एक अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेयर कित्ता र कारोबार संख्याको आधारमा पनि नबिल अग्रस्थानमा रहेको छ । बैंकको एकैदिन ७ लाख ५ हजार ४३० कित्ता सेयर ७ हजार ४८३ पटकमा किनबेच भएको छ । बैंकले सेयरधनीलाई उच्च लाभांशको घोषणा गरेसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । त्यस्तै, बुधबार तीन कम्पनीको सेयर मूल्यमा सर्किट भएको छ । महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइनान्स र साहस उर्जाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । यससँगै महालक्ष्मीको सेयर मूल्य प्रतिकित्ता ८०३, आईसीएफसीको ९६६ र साहसको प्रतिकित्ता ५९३ रुपैयाँ रहेको छ । बजारमा छ्याङ्दी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता ४९० रुपैयाँमा झरेको छ ।

नबिल बैंकको ‘बम्पर’ लाभांशलाई सेयर बजारले किन ‘रेस्पोन्स’ गरेन ?

काठमाडौं । मंगलबार साँझ नबिल बैंकले चालु आर्थिक वर्षका लागि लाभांश सार्वजनिक गर्यो । बैंकले ४.४ प्रतिशत नगद लाभांश र ३३.६ प्रतिशत बोनस सेयर गरी कुल ३८ प्रतिशत लाभांश दिने जानकारी सार्वजनिक गर्यो । नबिल बैंकले घोषणा गरेको यो लाभांश गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका आधारमा बढी हो । गत असार मसान्तसम्मको वित्तीय विवरणका आधारमा नबिल बैंकले ३० प्रतिशतको हाराहारीमा लाभांश दिने अनुमान गरिएको थियो । तर, बैंक संचालक समितिले अनुमान र अपेक्षाभन्दा बढी नै लाभांश घोषणा गर्यो । सार्वजनिक भएका सुचना र तथ्यांकभन्दा बढी लाभांश घोषणा गरेपछि दोस्रो बजारमा सो कम्पनीको सेयर मूल्य निकै बढ्नु पर्ने थियो । आज दोस्रो बजारमा नबिल बैंकको सेयरमा खासै अकर्षण देखिएन । तर, कारोबार भने उच्च परिमाणमा भएको छ । आज नबिल बैंकको सेयर मूल्य हिजोको तुलनामा ४५ रुपैयाँ (२.८ प्रतिशत) ले मात्रै बढेको छ । हिजो नबिल बैंकको सेयर प्रतिकित्ता १६०८ रुपैयाँमा कारोबार बन्द भएको थियो । आज कारोबार बन्द हुँदा नबिल बैंकको सेयरमूल्य प्रतिकित्ता १६५३ रुपैयाँ पुगेको छ । आज कारोबार खुल्दा नबिल बैंकको सेयरमूल्य प्रतिकित्ता १६४० रुपैयाँ थियो । नबिल बैंकले प्रस्ताव गरेको लाभांश (३८ प्रतिशत) आज कारोबार खुलेको मूल्य (प्रतिकित्ता १६४० रुपैयाँ) का आधारमा सो बैंकको लाभांश प्रतिफल दर २.३२ प्रतिशत मात्रै देखिन्छ । यसैकारण पनि सेयर मूल्यमा धेरै उछाल नआएको हुन सक्छ । नबिल बैंकको सेयर मूल्य अहिले कारोबार भइरहेका बैंकहरुमध्ये सबैभन्दा महंगो हो । त्यसैले अहिले कतिपय लगानीकर्ताले नबिल बैंकको सेयर मूल्य ‘सेचुरेसन’मा पुगिसकेको विश्लेषणका आधारमा बढी मूल्य तिर्न तयार नभएका पनि हुन सक्छन् । विगत केही दिनयता नबिल बैंकको सेयरमूल्य भने बढेको देखिन्छ । गत कात्तिक २ गते प्रतिकित्ता १४३१ रुपैयाँ रहेको नबिल बैंकको सेयरमूल्य हिजो (कात्तिक १६ गते) प्रतिकित्ता १६०८ रुपैयाँ पुगेको थियो । नबिल बैंकले प्रस्ताव गर्ने लाभांश दरबारे पहिल्यै अनुमान गरेर वा सुचना चुहिएर पहिला नै मूल्य धेरै बढेकोले लाभांश घोषणापछि धेरै नबढेको चर्चा पनि लगानीकर्ताबीच छ । सोही कारण पनि उच्च दरको लाभांश घोषणापछि पनि नबिलको सेयर मूल्य धेरै नबढेको हुन सक्छ । यद्यपि, आज दोस्रो बजारमा ३ वटा शिर्षकमा नबिल बैंक अग्रस्थानमा रह्यो । कारोबार रकम, बढी कित्ता कारोबार र धेरै पटक कारोबार गरी ३ शिर्षकमा आज नबिलले मार्केट लिड गर्यो । आज दोस्रो बजारमा नबिल बैंकको ७ लाख ५ हजार ४३० कित्ता सेयर १ अर्ब १७ करोड ९७ लाख रुपैयाँमा खरिद विक्री भए । नबिल बैंकको सेयर आज ७ हजार ४८३ पटक खरिद विक्री भएका थिए । १० वर्षको लाभांश इतिहास सेयरधनीलाई लाभांश बढी दिने वाणिज्य बैंकहरुमा नबिल बैंक अग्रस्थानमा देखिन्छ । र, नबिल बैंकको अर्काे राम्रो पक्ष भनेको उसले प्रदान गर्ने लाभांश धेरै घटबढ देखिदैन । विगत १० वर्षयताको नबिल बैंकको लाभांश हेर्दा सबैभन्दा कम ३४ प्रतिशत र सबैभन्दा बढी ६५ प्रतिशत दिएको देखिन्छ । बैंकले प्रदान गरेको लाभांशमा कुनै समय नगद लाभांशलाई प्राथमिकता दिएको देखिन्छ भने कुनै समय बोनस सेयरलाई प्राथमिकतामा राखेको देखिन्छ ।

अरुण काबेलीको शतप्रतिशत हकप्रद नबिल इन्भेष्टमेन्टले जारी गर्ने

काठमाडौं । अरुण काबेली पावरको हकप्रद सेयर नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जारी गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी कम्पनी र नबिल इन्भेष्टमेन्टबीच सम्झौता भएको छ । कम्पनीले ५.७१ प्रतिशत बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । मंसिर २२ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगदसहित शतप्रतिशत हकप्रद सेयर पारित गरेको हो । अरुण काबेलीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ कार्त्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ ।