काठमाडौं । मंगलबार साँझ नबिल बैंकले चालु आर्थिक वर्षका लागि लाभांश सार्वजनिक गर्यो । बैंकले ४.४ प्रतिशत नगद लाभांश र ३३.६ प्रतिशत बोनस सेयर गरी कुल ३८ प्रतिशत लाभांश दिने जानकारी सार्वजनिक गर्यो ।
नबिल बैंकले घोषणा गरेको यो लाभांश गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका आधारमा बढी हो । गत असार मसान्तसम्मको वित्तीय विवरणका आधारमा नबिल बैंकले ३० प्रतिशतको हाराहारीमा लाभांश दिने अनुमान गरिएको थियो ।
तर, बैंक संचालक समितिले अनुमान र अपेक्षाभन्दा बढी नै लाभांश घोषणा गर्यो । सार्वजनिक भएका सुचना र तथ्यांकभन्दा बढी लाभांश घोषणा गरेपछि दोस्रो बजारमा सो कम्पनीको सेयर मूल्य निकै बढ्नु पर्ने थियो ।
आज दोस्रो बजारमा नबिल बैंकको सेयरमा खासै अकर्षण देखिएन । तर, कारोबार भने उच्च परिमाणमा भएको छ । आज नबिल बैंकको सेयर मूल्य हिजोको तुलनामा ४५ रुपैयाँ (२.८ प्रतिशत) ले मात्रै बढेको छ । हिजो नबिल बैंकको सेयर प्रतिकित्ता १६०८ रुपैयाँमा कारोबार बन्द भएको थियो । आज कारोबार बन्द हुँदा नबिल बैंकको सेयरमूल्य प्रतिकित्ता १६५३ रुपैयाँ पुगेको छ ।
आज कारोबार खुल्दा नबिल बैंकको सेयरमूल्य प्रतिकित्ता १६४० रुपैयाँ थियो । नबिल बैंकले प्रस्ताव गरेको लाभांश (३८ प्रतिशत) आज कारोबार खुलेको मूल्य (प्रतिकित्ता १६४० रुपैयाँ) का आधारमा सो बैंकको लाभांश प्रतिफल दर २.३२ प्रतिशत मात्रै देखिन्छ । यसैकारण पनि सेयर मूल्यमा धेरै उछाल नआएको हुन सक्छ ।
नबिल बैंकको सेयर मूल्य अहिले कारोबार भइरहेका बैंकहरुमध्ये सबैभन्दा महंगो हो । त्यसैले अहिले कतिपय लगानीकर्ताले नबिल बैंकको सेयर मूल्य ‘सेचुरेसन’मा पुगिसकेको विश्लेषणका आधारमा बढी मूल्य तिर्न तयार नभएका पनि हुन सक्छन् ।
विगत केही दिनयता नबिल बैंकको सेयरमूल्य भने बढेको देखिन्छ । गत कात्तिक २ गते प्रतिकित्ता १४३१ रुपैयाँ रहेको नबिल बैंकको सेयरमूल्य हिजो (कात्तिक १६ गते) प्रतिकित्ता १६०८ रुपैयाँ पुगेको थियो । नबिल बैंकले प्रस्ताव गर्ने लाभांश दरबारे पहिल्यै अनुमान गरेर वा सुचना चुहिएर पहिला नै मूल्य धेरै बढेकोले लाभांश घोषणापछि धेरै नबढेको चर्चा पनि लगानीकर्ताबीच छ । सोही कारण पनि उच्च दरको लाभांश घोषणापछि पनि नबिलको सेयर मूल्य धेरै नबढेको हुन सक्छ ।
यद्यपि, आज दोस्रो बजारमा ३ वटा शिर्षकमा नबिल बैंक अग्रस्थानमा रह्यो । कारोबार रकम, बढी कित्ता कारोबार र धेरै पटक कारोबार गरी ३ शिर्षकमा आज नबिलले मार्केट लिड गर्यो ।
आज दोस्रो बजारमा नबिल बैंकको ७ लाख ५ हजार ४३० कित्ता सेयर १ अर्ब १७ करोड ९७ लाख रुपैयाँमा खरिद विक्री भए । नबिल बैंकको सेयर आज ७ हजार ४८३ पटक खरिद विक्री भएका थिए ।
१० वर्षको लाभांश इतिहास
सेयरधनीलाई लाभांश बढी दिने वाणिज्य बैंकहरुमा नबिल बैंक अग्रस्थानमा देखिन्छ । र, नबिल बैंकको अर्काे राम्रो पक्ष भनेको उसले प्रदान गर्ने लाभांश धेरै घटबढ देखिदैन ।
विगत १० वर्षयताको नबिल बैंकको लाभांश हेर्दा सबैभन्दा कम ३४ प्रतिशत र सबैभन्दा बढी ६५ प्रतिशत दिएको देखिन्छ । बैंकले प्रदान गरेको लाभांशमा कुनै समय नगद लाभांशलाई प्राथमिकता दिएको देखिन्छ भने कुनै समय बोनस सेयरलाई प्राथमिकतामा राखेको देखिन्छ ।