पृथ्वी राजमार्ग सञ्चालन र दीर्घकालीन समाधानका लागि पूर्वाधार मन्त्रालयको पाँचबुँदे निर्णय

काठमाडौं । पृथ्वी राजमार्गको सहज सञ्चालन तथा कृष्णभीर क्षेत्रको तत्कालीन र दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्णय गरेको छ । 

मंगलबार मन्त्रालयमा बसेको बैठकले विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्नका लागि तत्काल र दीर्घकालीन योजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो । 

बैठकले तत्काल विपद्को सामना गर्न कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तुरुन्त अघि बढाउने निर्णय गरेको छ । 

यसका साथै, नयाँ ट्र्याक खोल्ने कार्यसँगसँगै सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डरहरू हिलसाइडबाट तल खसाल्ने कार्यलाई पनि निरन्तरता दिइनेछ ।

कृष्णभीरको पहिरो समस्याको दीर्घकालीन समाधानका लागि सडक विभागले टनेल (सुरङमार्ग), सोइल नेलिङ, तथा सिट पाइललगायतका प्राविधिक विकल्पहरूबारे आवश्यक अध्ययन अघि बढाउने भएको छ । 

मन्त्रालयले कृष्णभीरको स्थायी विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सडकको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।

यी उल्लिखित विकल्पहरूको अध्ययन तथा प्राविधिक परामर्शका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ । 

सो कार्यका लागि आवश्यकताअनुसार सडक विभाग र सोसाइटीबीच चाँडै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

Share News