काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४२ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ः३० बजे भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित होटल पौवामा बस्नेछ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभामा पेश हुनेछ ।
विशेष प्रस्तावतर्फ कम्पनीको जारी पुँजी ४२ करोड रुपैयाँबाट वृद्धि गरी ७५ करोड रुपैयाँ कायम गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव रहेको छ । साथै, १० प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
यसैगरी, कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा आवश्यक संशोधन तथा थप गर्न नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त निर्देशनअनुसार संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल गरी पारित गरिनेछ ।