अराजक सेयर बजारमा सेवोनको अफसाइड र साउदको आत्मघाती गोल
काठमाडौं । अहिले युरोकप र कोपा अमेरिका फुटबल चलिरहेको छ । रातभरी युरोकप हेर्न पाइन्छ, विहानी पख कोपा अमेरिका । फुटबल प्रेमीहरुका लागि ‘दशैं’ बराबर । सबैलाई थाहा भएकै कुरा हो, फुटबलमा दुई टोलीका गरी एक पटकमा २२ खेलाडीले खेल्छन् । विपक्षी खेलाडीलाई झुक्क्याउने, छक्क्याउने, बल खोस्ने, आफ्ना खेलाडीलाई मात्रै पास दिने जस्ता हर्कत स्वभाविक हुन्छन् । सबै खेलाडीको ध्यान आफूले राम्रो खेल्दै आफ्नो टीमलाई जिताउने हुन्छ । त्यसैले उनीहरु मैदानभित्र आफ्नो र आफ्नो टीमको प्रभुत्व कायम गर्न चाहन्छन् । जीत निकाल्न खोज्छन् । सामान्यतः दुबै पक्षका १०/१० जना गरी २० जना खेलाडी मैदानको चारैतिर दौडिरहेका हुन्छन् । दुबैतिरका गोलकिपर विपक्षीले गोल गर्न नसकोस् भनेर रोक्नको लागि गोलपोष्ट कुरेर बस्छन् । तर, त्यही खेलमा एक व्यक्ति सबै खेलाडीभन्दा पनि बढी दौडिरहेको हुन्छ, सिठ्ठी फुक्दै । यसरी दौडिने व्यक्ति रेफ्री हो । रेफ्रीले मैदानमा रहेका २२सै जना खेलाडीप्रति ध्यान दिइरहेको हुन्छ । कसैले गल्ती गर्ने पो हो कि, खेल भावनाको साथ खेल भइरहेको छ कि छैन, कुन खेलाडीले कसरी खेलिरहेको छ भन्ने जस्ता कुरा रेफ्रीले हेरिरहेको हुन्छ । फुटबल खेल रेफ्रीको नियन्त्रणमा हुन्छ । रेफ्रीले अफसाइड भन्यो भने अफसाइड, रातो वा पहेलो कार्ड दियो भने दियो, दियो । त्यसैले मैदानमा रेफ्रीले जे निर्णय गर्यो त्यही नै सबैका लागि स्वीकार्य । रेफ्रीले खेल खेल्दैन, खेलाउँछ । खेलको नियम पालना गराउँछ । नियम उल्लघंन गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही ठोक्छ । रेफ्री नियामक हो । उसले नियमन गर्छ । यसैगरी बजारका खेलाडीहरुलाई नियमन गर्नुपर्ने हाम्रा नियामकहरु कतिपय अवस्थामा खेलाडी बन्छन् । आफै खेल्न थालेपछि नियामकहरुले कहिले अफसाइड गोल गर्छन् त कहिले आत्मघाती गोल । हिजो (असार १ गते) पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेवोन) ले अफसाइड गोल गर्यो र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतले आत्मघाती गोल । पहिला सेवोनको कुरा गरौं । हिजो सेवोनले ५१ कम्पनीमा लगानी गर्नु जोखिमयुक्त हुन्छ भन्दै विज्ञप्ति नै प्रकाशित गर्यो । चैत मसान्तसम्मको कारोबारका आधारमा सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणका केही सुचक लिएर सेवोनले जोखिमयुक्त कम्पनी पहिचान गर्यो । सेवोनले सार्वजनिक गरेको ५१ कम्पनीका सेयरमा ‘भित्री कारोबार, सर्कुलर कारोबार र कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा विस्तृत अध्ययन कार्य अगाडि बढाइएको व्यहोरा जानकारी’ गराइएको छ । सेवोनले नाम सार्वजनिक गरेका यी ५१ वटा कम्पनीले धितोपत्र सम्बन्धी कसुर गरेका प्रारम्भिक जानकारी प्राप्त भएको हो ? सायद होला । नभए सेवोनले नामै सार्वजनिक किन गरिरहन्थ्यो होला र । जोखिमयुक्त भनिएका ५१ कम्पनीको सुचीमा सरकारी लगानीका कम्पनीहरु पनि छन् । सुचीमा समावेश भएका कम्पनीहरु नेपाल इन्फ्रास्टक्चर बैंक, नागरिक लगानी कोष, राष्ट्रिय बीमा कम्पनी, माथिल्लो तामाकोशी जलविद्युत, जलविद्युत लगानी तथा विकास जस्ता कम्पनीले भित्री कारोबार गरे कि सर्कुलर ट्रेडिङ वा कर्नरिङ ? सरकारी कम्पनी भएर धितोपत्र सम्बन्धी कसुर गर्नेहरुलाई कारबाही गर्ने कि नाम मात्रै सार्वजनिक गर्ने ? सेवोनले उल्लेख गरे जस्तो गल्ती ती ५१ वटा कम्पनीहरुले गरेका हुन् कि बजारले ? सेवोनले यस्ता प्रश्नको जवाफ दिएको छैन । सेवोनले बजारमा नियमन र अनुगमन गर्न पाउँछ, गर्नुपर्छ । बजारलाई बजारको रुपमा विकास गर्न सहजीकरण गर्नुपर्छ । तर, नियमन र अनुगमनको नाममा ‘भित्री कारोबार, सर्कुलर कारोबार र कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुर’ गर्नेहरुलाई कारबाही गर्ने कि नाम सार्वजनिक गरेर ‘हिरो पल्टेर’ बस्ने ? यो कार्य सेवोनले नियामकीय जिम्मेवारी पूरा गरेको होइन, गए राति पर्चुगल र हंगेरीको खेलमा हंगेरीले गरे जस्तै अफसाइड गोल हो । रेफ्री (नियामक) आफै खेलमा सहभागी भएकोले झण्डा उठाएर अफसाइड भयो भन्ने रेफ्री कोही भएन । त्यसैले दर्शक (बजार) ले हुटिङ गर्दै भनिरहेका छन्- सेवोनको हिजोको विज्ञप्ति अफसाइड गोल हो, खेलमा झेल भयो । सेवोनलाई सम्झाउनु पर्ने भएको छ- तपाईं खेलाडी होइन, रेफ्री हो, खेलाडी नबन्नुस्, रेफ्री बन्नुस् । सेवोनका कार्यकारी निर्देशक निरज गिरीसँग व्यक्तिगत रुपमा मेरो केही गुनासो पनि छ । उहाँले म जस्ता धेरै पत्रकारसँग धेरै पटक भन्नुभएको छ- हामी मेरिट बेस्डमा होइन, डिस्क्लोजर बेस्डमा नियमन गर्छाैं, गर्नुपर्ने पनि त्यही हो । हिजोको विज्ञप्तिलाई आधार मान्दा सेवोनले मेरिट बेस्डमा नियमन गरेको हो कि डिस्क्लोजर बेस्डमा निरज सर ? सेवोनले सार्वजनिक गरेका जोखिमयुक्त ५१ कम्पनी कसरी जोखिमयुक्त देखिएछन् भन्ने तथ्य हेर्दा अझ रमाइलो लाग्ने अवस्था रहेछ । कतिपय कम्पनीको नेटवर्थ ऋणात्मक भएकोले सो कम्पनी जोखिमयुक्त भनिएको रहेछ । निर्माणाधिन जलविद्युत कम्पनीको नेटवर्थ ऋणात्मक नै हुन्छ, होइन र ? नेटवर्थ ऋणात्मक हुँदैमा कम्पनी जोखिमयुक्त भैहाल्ने हो र ? जोखिमयुक्त कम्पनी पहिचान गर्न सेवोनले उल्लेख गरेका कतिपय सुचक त उदेकलाग्दा छन् । जस्तो कि रसुवागढी हाइड्रोको पीई रेसियो १०९२.४५ ले ऋणात्मक छ रे ! यो भनेको के हो ? एउटा मान्यता के छ भने पीई रेसियो २० सम्म भएको कम्पनीको सेयर राम्रो मानिन्छ । त्योभन्दा जति कम भयो त्यति राम्रो । पीई रेसियो १०९२.४५ ले ऋणात्मक भनेको रसुवागढीको सेयर किन्न जानेलाई विक्रेताले चिया खाजा खान दिन्छन्, बाटो खर्च हालेर पठाइदिन्छन् भन्न खोजिएको हो ? यस्ता केटाकेटी तथ्य सार्वजनिक गरेर सेवोनले आफ्नै बेइज्जत किन गरेको होला ? दोस्रो बजारमा सेयर किन्नुअघि पीई रेसियो कति हुनुपर्छ, नेटवर्थ कति भएको कम्पनी किन्ने, ईपीएस कति हुनुपर्छ भन्ने लगानीकर्ताहरुले बनाएको एउटा मान्यता मात्रै हो । नियामकले त्यस्ता मान्यताहरुलाई मात्रै आधार बनाउन मिल्छ ? जस्तो कि सेवोनले प्राइस टू बुक भ्यालु (पीबी) रेसियो किन नहेरेको ? यो पनि त पीई रेसियो जस्तै अर्काे मान्यता हो । पीबी रेसियो ५ गुणासम्म भयो भने राम्रो हो भन्ने मानिन्छ । सोल्टी होटललाई पीई रेसियोको आधार जोखिमयुक्त कम्पनी घोषणा गरिदिने कि उसको ट्रयाक रेकर्ड पनि हेर्ने भन्ने अर्काे तर्क सेवोनले कसरी खारेज गर्छ ? सेवोनले सार्वजनिक गरेका जोखिमयुक्त कम्पनी गत चैत मसान्तमा प्रकाशित भएका अपरिष्कृत वित्तीय विवरणमा आधारित छन् । यी विवरण नियामकको लागि आफैमा कत्तिको औचित्यपूर्ण हुन् ? अपरिष्कृत वित्तीय विवरण र अन्तिम लेखापरीक्षणको विवरणमा फरक आउने सम्भावना वा आएका उदाहरण सेवोनलाई थाहा छ कि छैन ? अर्काे कुरा, सेवोनले विगतका सुचकको आधारमा कम्पनीहरुलाई जोखिमयुक्त भनेको छ । लगानी गर्ने भनेको विगतलाई हेरेर मात्रै होइन, भविष्यलाई हेरेर पनि हो । भविष्यको लागि गरिने लगानीहरुले सेवोनको हिजोको विज्ञप्तिबाट केही पाउँदैनन् । तर, सेवोनलाई सम्झाउँदै भन्नुपर्ने भएको छ- तिमी नियामक निकाय हौं, नियामक जस्तै बन, बजारलाई बजारको रुपमा अघि बढाउन सहजीकरण गर, बजारमा हुन सक्ने र भए गरेका गलत क्रियाकलापको प्रभावकारी अनुगमन गरेर हदैसम्मको कारबाही गर, यो प्रकारको खेलाँची वा केटाकेटी काम नगर । सही काम नै गर्न खोजिएको हो भने पनि गलत तरिकाले गर्न पाइदैन, सकिँदैन । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले त यो प्रकरणमा आत्मघाती गोल नै गरे । गए राति फ्रान्ससँगको खेलमा जर्मनीले गरे जस्तै आत्मघाती गोल भयो साउदको । सेवोनको विज्ञप्तिपछि साउदले सार्वजनिक संचारमाध्यमहरुमा बोल्दै सेवोनप्रति आक्रोस पोखे । साउद बजार संचालक नेप्सेको प्रमुख कार्यकारी अधिकृत मात्रै हुन् । बजार संचालकले नियामकलाई चुनौति दिन मिल्दैन । फेरि नेप्से फ्रन्टलाइन रेगुलेटर पनि हो । नेप्से आफैले नियामकलाई टेर्दैन भने उसले नियमन गर्ने कम्पनीहरुले नेप्सेलाई किन टेर्ने ? सार्वजनिक पदमा बसेका व्यक्तिहरुले आफ्ना असन्तुष्टी वा असहमती जाहेर गर्ने तरिका हुन्छन् । ‘सेवोनले जोखिमयुक्त भनेका ५१ कम्पनीको सेयर मूल्य घट्यो भने सेवोनले क्षतिपूर्ति दिनुपर्छ’ भन्ने अभिव्यक्ति दिएर प्रमुख कार्यकारी अधिकृत साउदले आफ्नो मर्यादा नाघेका छन् । मुख्य नियामक सेवोन र फ्रन्टलाइन रेगुलेटर नेप्सकै हालत यस्तो छ भने बजारका अन्य सरोकारवाला कस्ता होलान् भनेर सहजै अनुमान गर्न सकिन्छ । कुनै कम्पनीको मूल्यप्रति शंका, बजारको अबको ट्रेण्ड कस्तो होला भन्ने जस्ता विश्लेषण प्रकासन प्रसारण गर्दा सम्बन्धित पत्रकार तथा संचारमाध्यमलाई झम्टन आइलाग्ने ‘लगानीकर्ता’ चिनिएकै छ । दैनिक २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको बजारलाई यस्तो अराजक हुन नदिन कस्ले कहाँबाट कहिलेदेखि काम गर्ने होला ? सम्बन्धित समाचार इन्साइडर ट्रेडिङको आरोपमा ९ वटा सरकारी कम्पनीलाई पनि डाम्यो सेवोनले, ती कम्पनी भन्छन्ः भ्रमपूर्ण कुरा धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीका सेयर दोस्रो बजारमा कारोबारका लागि जोखिमयुक्त नेपाली सेयर बजारमा पनि हुन लागेको हो गेमस्टप र एएमसी जस्तै फण्डा ? राधीको सेयरमा मागको बाढी, बोनस र हकप्रदपछि हरियाली कि सुख्खा खडेरी ?
१५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा १५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । ‘४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ ‘घ’’ नामक सो मात्राको ऋणपत्र आज (असार २ गते) नेप्सेमा थपिएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन भएका उक्त ऋणपत्र विकास ऋणपत्र धितोपत्र सूचीकरण विनियमाववली, २०७५ को विनियम ८ अनुसार सूचीकृत भएको हो । ५ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा ४.७९ प्रतिशत व्याजदर पाइने छ । जुन अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ । त्यस्तै, २०७८ जेठ १३ गतेदेखि निष्काशन भएको उक्त ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ १३ गते हुने जनाइएको छ ।
इन्साइडर ट्रेडिङको आरोपमा ९ वटा सरकारी कम्पनीलाई पनि डाम्यो सेवोनले, ती कम्पनी भन्छन्ः भ्रमपूर्ण कुरा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले जोखिमयुक्त ५१ कम्पनीको सुचीमा ९ वटा सरकारी कम्पनी पनि समावेश गरेको छ । कम्पनीको भित्री सुचनाको आधारमा कारोबार, सर्कुलर ट्रेडिङ र कर्नरिङ गरेर सेयर मूल्य बढाइएको भनिएका ५१ कम्पनीमा ९ वटा सरकारी कम्पनी पनि परेका छन् । सेवोनले सार्वजनिक गरेको ५१ कम्पनीको नामावलीमा जलविद्युत लगानी तथा विकास कम्पनी, रसुवागढी, साञ्जेन, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्फ्रास्टक्चर बैंक, विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनी पनि परेका छन् । यी कम्पनीमा सरकारको पनि सेयर स्वामित्व छ । सरकारको सेयर स्वामित्व रहने भएपछि कम्पनीको संचालक समितिमा सरकारले नियुक्त वा मनोनित गरेका व्यक्तिहरु पदाधिकारी पनि हुने गछन् । तर, बोर्डले सार्वजनिक गरेको नामावलीमा यस्ता कम्पनी पनि परेका छन् । सेवोनले इन्साइडर ट्रेडिङ, सर्कुलर कारोबार वा कर्नरिङको आरोप लगाएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठ आफ्नो कम्पनी यस्ता गलत कार्यमा सहभागी नहुने बताउँछन् । ‘सबै कम्पनीलाई एउटै बास्केटमा राख्दा हाम्रो कम्पनी पनि परेको होला, हामीले गलत काम गरेका छैनौं, कम्पनी असाध्यै राम्रो छ, हाम्रो सेयर मूल्य कम भयो, बढाउनु पर्छ भनेर हामीले कहि बोलेका पनि छैनौं, हाम्रो कम्पनीको वित्तीय विवरण लगायत लगानीकर्तालाई दिनुपर्ने यथार्थ विवरण कानुनले तोकेको समयमै दिएका छौं, तर पनि हाम्रो कम्पनीलाई कसरी त्यस्तो सुचीमा समावेश गरियो भन्ने हामीले बुझेका छैनौं,’ कार्यकारी निर्देशक श्रेष्ठले विकासन्युजसँग भने । बोर्डले सार्वजनिक गरेको जोखिमयुक्त कम्पनीको सुचीमा नागरिक लगानी कोष पनि परेको छ । आफ्नो कम्पनीलाई पनि जोखिमयुक्त कम्पनीको सुचीमा राखेकोप्रति कोषका कार्यकारी निर्देशक रमण नेपालले आश्चर्य व्यक्त गरे । ‘सेवोनले कोषलाई पनि जोखिमयुक्त कम्पनीको सुचीमा राखेछ, कसरी राखियो भन्ने कुरा मैले बुझिनँ, कोषले इन्साइडर ट्रेडिङ, सर्कुलर कारोबार वा कर्नरिङ गर्ने भन्ने कुरै आउँदैन, तर पनि जोखिमयुक्त कम्पनीको सुचीमा कोष पनि परेको देख्दा हामीलाई आश्चर्य लागेको छ,’ कार्यकारी निर्देशक नेपालले विकासन्युजसँग भने । सेवोनले सार्वजनिक गरेको जोखिमयुक्त कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनी पनि परेको छ । सो कम्पनीमा सरकारले संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा अहिले अर्थमन्त्रालयका उपसचिव डा. डिल्ली अर्याल छन् । आफ्नो कम्पनीलाई पनि सर्कुलर ट्रेडिङ, इन्साइडर कारोबार वा कर्नरिङको आरोपमा जोखिमयुक्त कम्पनीको सुचीमा राखिएकोप्रति कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. अर्यालले असन्तुष्टी जनाए । ‘सेवोनले विभिन्न कैफियत देखाएर जोखिमयुक्त कम्पनीको सुचीको निकाल्दा हाम्रो कम्पनी पनि राखिएको रहेछ, यो आफैमा भ्रमपूर्ण छ, हामीबाट गल्ती भएको छैन, कम्पनीले लेखापरीक्षण गर्न सकेको छैन, यो कुरा हामीले लगानीकर्तालाई भनिरहेका छौं, हाम्रो कम्पनीको सेयर मूल्य कम छ, त्यसैले बढाउनु पर्छ भनेर कही बोलेका छैनौं, कानुन अनुसार लगानीकर्तालाई हामीले के भन्नुपर्ने हो त्यो कुरा भनिरहेका छौं, यस्तो हुँदा पनि हाम्रो कम्पनीलाई विभिन्न कैफियतमा जोखिमयुक्त कम्पनीको सुचीमा राख्नु आफैमा अनौठो कार्य भएको छ,’ प्रमुख कार्यकारी अधिकृत डा. अर्यालले भने । सम्बन्धित समाचार धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीका सेयर दोस्रो बजारमा कारोबारका लागि जोखिमयुक्त नेपाली सेयर बजारमा पनि हुन लागेको हो गेमस्टप र एएमसी जस्तै फण्डा ?