काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कार्त्तिक १२ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले नगद नभई बोनस सेयर मात्रै दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी १७ करोड ३२ लाख रुपैयाँ रहेको छ । ३२ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी २२ करोड ९५ लाख रुपैयाँ नाघ्ने छ ।
प्रस्तावित ३२ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा झण्डै दुई गुणा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल १७.८१०३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।