वोमी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्त्तिक २५ गते दिउँसो ३ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । साथै, संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त लघुवित्ति वित्तीय संस्था एक आपसमा मर्ज भई गत आवमै एकीकृत कारोबार गरेकाले बोनस सेयरमा लाग्ने कर छुट भएको संस्थाले जानकारी गराएको छ । हाल संस्थाको चुक्ता पुँजी ४१ करोड १९ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ ।
स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य ६७५ रुपैयाँ
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्तर्गतको ११ हजार ७५३ कित्ता बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कार्तिक २५ गतेदेखि मंसिर ०१ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आइपुग्ने गरी सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्नेछन् ।
नेप्सेले राधीसँग माग्यो लगानी विवरण, नबुझाए कार्वाही गरिने
काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले राधी विद्युत कम्पनीलाई लगानीको विवरण मागेको छ । कार्त्तिक २५ गते सार्वजनिक सूचना जारी गर्दै नेप्सेले कम्पनीसँग प्रमाणीत विवरण माग गरेको हो । कम्पनीसँग पटक पटक माग गर्दा पनि हालसम्म सम्पूर्ण विवरण नबुझाएको भन्दै नेप्सले प्रमाणीत लगानी विवरण बुझाउन आग्रह गरेको हो । उक्त विवरण आगामी ३ कार्य दिनभित्र पेश गर्न नेप्सेको निर्देशन छ । साथै, उक्त समयभित्र पेश नगरेमा धितोपत्र प्रचलित ऐन, नियम अनुसार कारवाही गरिने नेप्सेले जनाएको छ ।