सुपर मादी हाईड्रोपावरकाे शेयरको प्रत्याभूतिमा प्रभु क्यापिटल नियुक्त
काठमाडाैं । सुपर मादी हाईड्रोपावर कम्पनीले प्रभु क्यापिटललाई शेयरको प्रत्याभूतिमा नियुक्त गरेकाे छ । कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको हाे । सो नियुक्ति सम्बन्धी कम्पनी र क्यपिटलबीच आईतबार सम्झाैता भएकाे हाे । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए । कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको र त्यहाँको स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गरिने कम्पनीका कार्यकारी अध्यक्ष ढुंगानाले जानकारी दिए ।
अपि पावर र एनएलजी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार अपि पावर र एनएलजी इन्स्योरेन्सको कूल ३७ लाख १७ हजार ९६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी अपि पावरको रहेको छ । कम्पनीको १०.५० प्रतिशत अर्थात २६ लाख २१ हजार ५९४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यसैगरी, एनएलजी इन्स्योरेन्सको १० लाख ९६ हजार ३७५.५० कित्ता अर्थात १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त सेयर सेयरधनीले दोश्रो बजारमा किनबेच गर्न पाउनेछन् ।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, सबै समूहमा छायो हरियाली
काठमाडौं । सेयर बजार करिब दुई सातापछि उकालो लागेको छ । गत कार्त्तिक १७ गतेदेखि निरन्तर ओरालो लागेको सेयर बजार कार्त्तिक २९ गते सोमबार भने दोहोरो उकालो लागेको हो । बजारमा नेप्से परिसूचक २६.४४ बिन्दुले उकालो लागेर २७१५.३५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.९८ प्रतिशतले बढी हो । सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार पनि बढेको छ । आइतबार ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नियमित समयसम्म कारोबार भएको बजारमा २२८ कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ३५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उच्च कारोबार भएको संस्थाको सेयर मूल्य भने घटेको छ । संस्थाको सेयर मूल्य ४.४६ प्रतिशतले घटेर प्रतिकित्ता ७५० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले बढी हो । सोमबार कारोबारमा आएका १३ वटै समूह हरिया देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१२ बिन्दुले उकालो लागेको छ । दोहोरो अंकले बढेको बजारमा ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । आइतबारजस्तै सोमबार पनि बोटलर्स नेपाल (तराई) को सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३ हजार ७ रुपैयाँ पुगेको छ । त्यसैगरी, मानुषी लघुवित्तको १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १२३ रुपैयाँ, तेह्रथुप पावरको ९.९९ प्रतिशतले बढेर ४८३ रुपैयाँ र मैलुङ्ग खोलाको सेयर मूल्य ९.६१ प्रतिशतले बढेर प्रतिकित्ता ४७९ रुपैयाँ पुगेको छ । आइतबार केन्द्रिय बैंक नेपाल राष्ट बैंकले निर्देशन जारी गर्दै व्याजदर बृद्धिमा लगाम लगाएसँगै त्यसको सकारात्मक प्रभाव सोमबारको सेयर बजारमा परेको हो । उक्त निर्देशनअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले अब आफ्नो औसत व्याजदरको १० प्रतिशत मात्रै व्याज बढाउन पाउने व्यवस्था गरिएको छ ।