प्रभु क्यापिटल बन्यो खानीखोला हाइड्रोको सेयर रजिष्ट्रार
काठमाडौं । खानीखोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । हाइड्रोको सञ्चालक समितिको बैठकले क्यापिटललाई सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै, खानीखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
तीन लघुवित्तले २० करोड ९६ लाखको एफपीओ जारी गर्ने, मागे बोर्डको अनुमति
काठमाडौं । विभिन्न तीन लघुवित्तले कूल २० करोड ९६ लाख रुपैयाँ बराबरको थप प्राथमिक निष्काशन (एफपीओ) जारी गर्ने भएका छन् । किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कूल १६ लाख ७९ हजार २२४ कित्ता सेयर (एफपीओ) जारी गर्ने प्रकृया अघि बढाएका हुन् । जसमध्ये किसान लघुवित्तले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको छ । संस्थाले अंकित मूल्य एक सय रुपैयाँमा २५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२५ रुपैयाँमा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति मागेको हो । संस्थाले गत असार २९ गते नै बोर्डसँग अनुमति मागेको थियो । बोर्डको अनुमति पाएसँगै संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्फत एफपीओ जारी गर्ने छ । त्यस्तै, नयाँ सारथी लघुवित्तले ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने बोर्डसँग अनुमति मागेको छ । संस्थाले प्रतिकित्ता ११६ रुपैयाँमा (अंकित मूल्य एक सय रुपैयाँमा थप १६ रुपैयाँ प्रिमियम) ३ लाख २९ हजार ६४९ कित्ता सेयर जारी गर्ने छ । संस्थाले २०७८ भदौ ९ गते नै बोर्डसँग अनुमति मागेको हो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । त्यसैगरी, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ९१ लाख २३ हजार ९८४ रुपैयाँ बराबरको एफपीओ जारी गर्न कार्त्तिक २३ गते नै बोर्डसँग अनुमति मागेको छ । संस्थाले अंकित मूल्य एक सय रुपैयाँमा थप ७७.८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १७७.८ रुपैयाँमा ५१ हजार ३१६ कित्ता एफपीओ जारी गर्न लागेको हो । संस्थाको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
अपर स्याङ्गे हाईड्रोपावरकाे शेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त
काठमाडाैं । अपर स्याङ्गे हाईड्रोपावरले स्थानियबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८ लाख ७० हजार कित्ता शेयरको लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी बुधबार दुई कम्पनीबीच सम्झाैता सम्पन्न भएकाे छ । सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावरको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष घलेले जानकारी दिए ।