अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल
काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको छ । आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।
आजदेखिको सेयर कारोबारमा तीन नयाँ नियम लागू हुने
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ शुरु भएसँगै दोश्रो बजारमा आज पहिलो कारोबार हुँदै छ । जहाँ आज (साउन ३ गते) देखि नै विभिन्न तीन नयाँ नियम लागू हुने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आजदेखि तीन नयाँ नियम कार्यान्वयनमा ल्याउन लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा सरकारले गरेको व्यवस्थालाई कार्यान्वयन गर्दै नेप्सेले आजदेखिको सेयर कारोबारमा नयाँ व्यवस्था लागू गर्ने भएको हो । जसमध्ये आजैदेखि प्रिओपन सेसनको कारोबार सीमा घटेर लागू हुने भएको छ । नियामक निकायले नियमित कारोबार हुनुभन्दा अघि (अर्थात प्रिओपन सेसन)को कारोबार सीमा घटाएर २ प्रतिशतमा झारेसँगै नेप्सेले आजदेखि कार्यान्वयनमा ल्याउन लागेको हो । यससँगै उक्त समयमा कारोबार गर्ने लगानीकर्ताले अधिकतम २ प्रतिशत मात्रै घटबढ भएर धितोपत्र किनबेच गर्न पाउने छन् । यसअघि उक्त सीमा अधिकतम ५ प्रतिशत रहेको थियो । यो नयाँ व्यवस्था कार्यान्वयन पश्चात सेयर मूल्यमा भइरहेको अस्वभाविक उतारचढाव न्युनिकरण भई प्रिओपनको कारोबार थप व्यवस्थित हुने बोर्डले जनाएको छ । अर्को, बजारमा कारोबार हुँदाको मूल्य परिवर्तन सीमा पनि घटेर आजैदेखि लागू हुँदै छ । न्युनतम मूल्य परिवर्तन एक रुपैयाँ रहेको उक्त सीमा घटेर १० पैसामा झरेको छ । यससँगै लगानीकर्ताले कुनैपनि धितोपत्र किनबेचमा न्युनतम एक रूपैयाँको मोलमोलाई न्युनतम १० पैसामा गर्न पाउने भएका छन् । न्युनतम मूल्य परिवर्तन सीमा १० पैसाँ हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ । त्यसैगरी, पुँजीगत लाभकरमा पनि नयाँ व्यवस्था लागू भएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि पुँजीगत लाभकर न्युनतम ५ प्रतिशत र अधिकतम ७.५० प्रतिशत लागू गर्ने व्यवस्था गरेसँगै आजदेखिको कारोबारमा उक्त व्यवस्था लागू हुने भएको छ । यो व्यवस्थासँगै, अल्पकालीन लगानीकर्ता (अर्थात ३६५ दिनसम्म सेयर होल्ड गर्ने) ले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ । र, त्यो भन्दा बढी अवधि होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत नै लाभकार तिर्नुपर्ने छ । यसअघि दुबै किसिमका लगानीकर्तालाई एउटै अर्थात ५ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्दै आएको थियो ।