मध्य भोटेकोशीको आईपीओमा २१ करोड रुपैयाँ बढीको आवेदन, कतिले भरे ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा २१ करोड १७ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा ९ हजार ८२५ जनाले उक्त रकम बराबरको सेयरको लागि आवेदन दिएका हुन् । उनीहरुले हालसम्ममा कम्पनीको २१ लाख १७ हजार २३७ कित्ता सेयर माग गरेका हुन् । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको छ । आईपीओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने व्यबस्था गरिएको छ । थप समाचार स्थगित मध्य भोटेकोशीको आईपीओ पुनः आजदेखि खुल्यो
पुँजीबजारको २० वर्षे इतिहासः ७ पटक रेकर्ड ब्रेक, बैशाखदेखि भदौसम्मको समय स्वर्णिम
काठमाडौं । पछिल्लो समय सेयर बजार लगानी गर्न खोज्नेहरुका लागि एउटा गतिलो प्लेटफर्म बनेको छ । नयाँ लगानीकर्ता होस् वा लामो समयदेखि सेयर बजारमा अनुभव भएको लगानीकर्ता नै किन नहोस् सेयर बजार सबैको लागि आदत नै बनिसकेको छ । आफुसँग भएको रकमलाई बढाउनका लागि लगानी गर्ने एउटा सजिलो प्लेटफर्म लगानीकर्ताका लागि सेयर बजार बन्दै गएको छ । तर, कतिपयको भने सेयर बजारकै कारण करोडौंको सम्पत्ति पनि डुबेको छ । वि.स १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गरेपछि नेपालमा अनौपचारिक रुपमा सुरु भएको सेयर कारोबारमा अहिले आएर दैनिक अरबौं रुपैयाँको कारोबार भइरहेको छ । २०५० मा धितोपत्र कारोबार ऐन २०४० को दोस्रो संशोधन गरी धितोपत्र खरीदविक्री केन्द्रलाई हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रुपान्तरण गरिएपछि नेपाली पूँजी बजार विकसित हुँदै गएको देख्न सकिन्छ । पुँजी बजारको विगत २० वर्षे इतिहास हेर्ने हो भने अधिकांश वर्षमा बैशाखदेखि भदौ महिनाको बीचमा सेयर बजारमा हरियाली छाएको देखिन्छ । आर्थिक वर्ष २०५८/५९ देखि २०७७/७८ सम्म (२० वर्षको अवधि) मा १६ वर्ष नेप्सेले बैशाखदेखि भदौ महिनामा वार्षिक उच्चतम बिन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ७ पटकसम्म नयाँ कीर्तिमान कायम भएको छ । बजारमा नेप्से परिसूचकले पुरानो रेकर्डलाई ब्रेक गर्दै नयाँ नयाँ रेकर्ड राख्न सफल भएको छ । यो अवधिमा परिसूचक उच्चतम ३५२.२५ बिन्दुदेखि ३०२५.८३ बिन्दुसम्म पुगेको छ । ३०२५ बिन्दुसम्मको उचाईंमा पुग्दा बजारले ७ पटकसम्म नयाँ रेकर्ड राखेको देखिन्छ । गत २० वर्ष यताको तथ्याङ्क हेर्दा २०५८ चैत २ गते नेप्से परिसूचक हालसम्मकै न्युन बिन्दुमा थियो । सो दिनको नेप्से परिसूचक १८३.२२ बिन्दुमा थियो । त्यस्तै, २०७८ जेठ ३१ गते नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिनको नेप्से परिसूचक ३०२५.८३ बिन्दुमा पुगेको थियो । जसले नेपाली पुँजीबजारको हालसम्मकै रेकर्डलाई तोडेर नयाँ रेकर्ड राख्न सफल भएको छ । आर्थिक वर्ष २०५८/५९ मा न्युनतम १८६.२२ बिन्दुमा रहेको नेप्से परिसूचक सोहि वर्ष उच्चतम ३५२.२५ बिन्दुमा पुगेको थियो । भदौ १ गते ३५२.२५ बिन्दुमा पुगेको बजारले वर्षको नयाँ उचाई बनाउन सफल भएको थियो । यससँगै ४ आर्थिक वर्षसम्म नेप्से परिसूचक १८६.२२ बिन्दुदेखि ३५२.२५ बिन्दुसम्ममै रह्यो । यो अवधिमा परिसूचकमा कुनै ऐतिहासिक रेकर्ड कायम भएन । त्यसपछि आर्थिक वर्ष २०६२/६३ सालको पुँजीबजारले ४ वर्ष अगाडिको रेकर्डलाई तोडेको देखिन्छ । २०६३ जेठ १ गतेको बजारमा परिसूचक ३८८.४९ बिन्दुमा पुगेर नयाँ कीर्तिमान राखेको थियो । जसले २०५८ सालको ३५२ बिन्दुलाई सजिलै पार गरेको थियो । आर्थिक वर्ष २०६२/६३ मा २०६२ असार ३ गते नेप्से परिसूचक न्युनतम २८७ बिन्दुमा झरेको थियो । २०६४ असार ३२ गतेको परिसूचक ६८३.९५ बिन्दुमा पुगेको थियो । जसले २०६३ सालको उच्च बिन्दुलाई सजिलै पार गरेर नयाँ रेकर्ड राखेको देखिन्छ । सो वर्ष उच्चतम ६८३.९५ बिन्दुमा पुगेको परिसूचक न्युनतम ३५५.६० बिन्दुसम्म झरेको थियो । त्यसैगरी, २०६३ सालको उच्चतम बिन्दुलाई २०६४ सालको बजारलाई सजिलै तोडेको छ । सो वर्षमा परिसूचक बढेर उच्चतम १०६४.०९ बिन्दुसम्म पुगेको थियो । जुन सो वर्षको मात्रै नभएर यसअघिकै उच्च बिन्दु थियो । २०६४ साल पुस २ गते नयाँ उचाईं चुमेको बजारमा परिसूचक न्युनतम ६७७.९८ बिन्दुसम्म झरेको थियो । श्राेत: धिताेपत्र बाेर्ड/नेप्से त्यसपछि नयाँ आर्थिक वर्षले पुनः अर्को रेकर्ड कायम गरेको देखिन्छ । लगातार दुई आवमा नयाँ रेकर्ड राख्न सफल भएको परिसूचकले आर्थिक वर्ष २०६५.६६ मा पनि नयाँ रेकर्ड राखेको छ । सो वर्षमा भदौ १५ गते परिसूचक ११७५.३८ बिन्दुमा पुगेको थियो । त्यसपछि एकैपटक आर्थिक वर्ष २०७२/७३ सालमा पुँजीबजारमा नयाँ रेकर्ड कायम भयो । २०७३ असार १५ गतेको बजारमा नेप्से परिसूचक इतिहासकै नयाँ उचाईमा पुग्यो । जसले ११७५.३८ को रेकर्डलाई सजिलै पार गरेर १७२४.५९ बिन्दुको उचाई चुमेको थियो । सो वर्षमा परिसूचक न्युनतम ९६३.२३ बिन्दुमा रहेको थियो । त्यसको लगत्तै नयाँ आव २०७३/७४ मा परिसूचक १८८१.४५ बिन्दुमा पुगेर नयाँ कीर्तिमानी कायम गर्यो । २०७३ साउन १२ गतेको बजारले उक्त रेकर्ड राखेको हो । सोही आवमा परिसूचक न्युनतम १२५२.५० बिन्दुदेखि अधिकतम १८८१.४५ बिन्दुमा रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा कोरोना महामारीकैबीच परिसूचक नयाँ उचाईमा पुग्यो । २०७८ जेठ ३१ गते परिसूचक हालसम्मकै उच्चतम बिन्दु ३०२५.८३ मा पुगेको थियो । नेप्सेले हाल सञ्चालनमा ल्याएको अनलाईन प्रणालीले गर्दा नै परिसूचक नयाँ उचाईमा पुग्न सफल भएको नेप्सेको दावी छ । यससँगै चालु आर्थिक वर्ष २०७८/७९ मा जम्मा ४ दिन सेयर कारोबार भयो । यो अवधिमा परिसूचक न्युनतम २९५०.४६ बिन्दुदेखि अधिकतम ३००४.३३ बिन्दुमा पुगेको छ । आज साताको अन्तिम दिन २०७८ साउन ७ गतेको बजारमा परिसूचक १८.७६ बिन्दुले बढेर ३००४.३३ बिन्दुमा पुगेको छ ।
म्युचुअल फण्डको बढ्दो बजार मूल्यः लाभांशको लोभअघि बुझ्नु पर्छ यी तथ्य
काठमाडौं । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । दोश्रो बजार बढेसँगै म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि दिनानुदिन बढ्दै गएको हो । दोश्रो बजार मात्रै नभएर प्राथमिक बजारमा पनि लगानीकर्ताहरु म्युचुअल फण्डमा आकर्षित भएको देखिन्छ । जुन, विभिन्न कम्पनीले जारी गरेका विभिन्न प्रकारका म्युचुअल फण्डको आवेदन संख्याबाटै प्रष्ट हुन्छ । केही समय अघि मात्रै बिक्री खुला भएका म्युचुअल फण्डहरु बिक्नलाई धौधौ पर्थ्यो । तोकिएको ढिलो मितिसम्म निष्काशन गर्दा पनि संस्थाले माग गरेको जति आवेदन नपरेको कयौं तथ्यांकहरु छन् । तर पछिल्लो समय भने जारी भएका म्युचुअल फण्ड सजिलै बिक्री हुँदै आएका छन् । बिक्री खुला भएको एक दुई दिन बित्न नपाउँदै संस्थाले माग गरेको भन्दा बढी आवेदन परिसकेको हुन्छ । र, तोकिएको छोटो मिति (अर्थात बिक्री खुला गरेको ४ कार्य दिन) मै उक्त फण्डको निष्काशन बन्द हुन्छ । सेयर बजार बढ्दा म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (नेट एसेस्ट भ्यालू ‘एनएभी’) पनि बढ्छ । एनएभी बढेसँगै लगानीकर्ताको आकर्षण म्युचुअल फण्डमा बढेको हो । यसका साथै, विभिन्न म्युचुअल फण्ड अन्तर्गत सञ्चालित विभिन्न प्रकारका योजना तथा कोषले प्रतिफल घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सम्बन्धित फण्डको मूल्यमा पर्नेछ । उक्त घोषित नगद लाभांश तथा प्रतिफलमा लगानीकर्ताको आर्कषण बढेसँगै बजारमा तिनीहरुको भाउ पनि बढ्ने गरेको पाइन्छ । पछिल्लो समयको बजारमा त्यस्तै भएको छ । उदाहरणको लागि लक्ष्मी उन्नति कोषलाई हेरौं । जसले आज(साउन ५ गते) मंगलबार बिहान मात्रै गत आर्थिक वर्षको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गर्यो । यससँगै त्यसको सकारात्मक प्रभाव कोषको इकाई मूल्यमा परेको छ । अघिल्लो दिनको तुलनामा इकाई मूल्य १० प्रतिशतले बढेर प्रतिईकाई १४.२५ रुपैयाँ पुगेको छ । जुन १.३० रुपैयाँले बढी हो । कोषले आफ्ना इकाईधनीलाई अंकित मूल्यका आधारमा लाभांश वितरण गर्नेछ । जस्तै, कोषले २५ प्रतिशत लाभांश वितरण गर्दै छ भने उसले अंकित मूल्य १० रुपैयाँको २५ प्रतिशत अर्थात २.५ रुपैयाँ लाभांश वितरण गर्नेछ । यससँगै कोषको एक सय इकाई हुनेले कूल २५० रुपैयाँ पाउने छन् । तर लाभांशको लागि म्युचुअल फण्डमा लगानी गर्ने अधिकांशले आफुले लगानी गरेको पैसाबाट आफैले लाभांश खाएको पाइन्छ । कसरी ? कुनै योजनाले १० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेको छ । हालै लाभांश घोषणा गरेको लक्ष्मी उन्नति कोषकै उदाहरण हेरौं । कोषले २५ प्रतिशत लाभांश घोषणा गरेको छ र आगामी साउन १३ गते बुक क्लोजको मिति तय गरेको छ । बुक क्लोज अघि अर्थात साउन १२ गते कोषको कारोबार मूल्य १४.२५ रुपैयाँ कायम भयो । हाल कोषको न्याभ १४.७९ रुपैयाँ छ । २५ प्रतिशत लाभांश वितरणपछि कोषको न्याभ २.५ रुपैयाँले घटेर १२.२९ रुपैयाँ कायम हुन्छ । त्यसैले, २५ प्रतिशत लाभांशको लोभमा प्रतिइकाई १४.२५ रुपैयाँमा कोषको इकाई उठाउने लगानीकर्ताले आफुले तिरेको रकमबाट आफैले लाभांश खाएर १.९६ रुपैयाँ घाटा व्यहोर्नुपर्छ । जुन २.५ रुपैयाँ लाभांशको तुलनामा ५४ पैसाँ बढी हो । यो त रह्यो बजार मूल्यभन्दा बढी न्याभ रहेको योजनाको उदाहरण । अब बजार मूल्यभन्दा कम न्याभ भएको योजनाको उदाहरण हेरौं । जस्तै, लक्ष्मी इक्विटी फण्डको बजार मूल्य १६.०५ र न्याभ १५.६६ रुपैयाँ रहेको छ । फण्डले इकाईधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांशपछि फण्डको खुद सम्पत्ति घटेर १३.१६ रुपैयाँ कायम हुन्छ । यससँगै लाभांशको लोभमा परेर प्रतिइकाई १६.०५ रुपैयाँ हालेर फण्ड किन्नेलाई न्याभ १३.१६ मा झर्र्दा २.८९ रुपैयाँ घाटा हुन्छ । जुन फण्डले दिने २.५ रुपैयाँ लाभांशभन्दा पनि ०.३९ रुपैयाँ बढी घाटा हो । यससँगै उसले आफ्नो मूल्यबाट आफैले लाभांश खाएर पनि थप ०.३९ पैसा गुमाएको हुन्छ । तर, सबै योजनाको लाभांश घोषणापछि मूल्य समायोजन हुन्छ नै भन्ने हुँदैन । धितोपत्र नियमावली अनुसार घोषित लाभांश बुक क्लोजको मितिमा कायम कारोबार मूल्यको १० प्रतिशतभन्दा बढी भएमा मात्रै उक्त योजनाको मूल्य समायोजन हुनेछ । अन्यथा उक्त योजनाको मूल्य समायोजन हुँदैन । सेयर र म्युचुअल फण्डमा फरक सेयर र म्युचुअल फण्डमा लाभांशपछिको सम्पत्तिमा फरक हुन्छ । सेयरमा कम्पनीले छुट्याएको नाफाबाट लाभांश वितरण गर्छ र लाभांश वितरणपछि कम्पनीको पुँजी घट्दैन । तर, म्युचुअल फण्डमा भने लाभांश वितरणपछि न्याभ नै घट्छ । किनभने म्युचुअल फण्डले न्याभमा प्राप्त भएको र नभएको नाफा समेत गरी प्राप्त नाफाको वितरणयोग्य रकमबाट लाभांश वितरण गर्दा न्याभ घट्न पुग्छ । मंगलबारको बजारमा पनि अधिकांश म्युचुअल फण्डको मूल्य बढेको थियो । सो दिन बढी कमाउनेको सूचीमा प्राय सबै म्युचुअल फण्ड नै रहेका थिए । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्ड लगायत ग्लोबल आईएमई समुन्नत स्किम १, एनआईसी एशिया ब्यालेन्सड फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड १ र सिद्धार्थ इक्विटी फण्ड गरी कूल ८ वटा म्युचुअलु फण्ड मंगलबार बढी कमाउनेको शीर्ष १०औं स्थानको सूचीमा रहेका छन् । योजनाहरुले धमाधम लाभांश घोषणा गर्ने सिजन लागेसँगै म्युचुअल फण्डको इकाईको मूल्य बढेको हो ।