नेपाल बैंकले २३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, चैत २९ गते बुक क्लोज

काठमाडौं । नेपाल बैंक लिमिटेडले २३ दशमलब ७४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंक सञ्चालक समितिको उक्त निर्णयलाई आइतबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको हो । साथै, सो प्रयोजनको लागि आगामी चैत २९ गते बैंकको बुक क्लोज रहने भएको छ ।

दुई पटक सर्किट ब्रेक लागेको नेप्से साढे ६ अंकले ओर्लियो, २ अर्ब ५२ करोडको सेयर कारोबार

काठमाडौं । दुई पटक सर्किट ब्रेक लागेको सोमबारको सेयर बजारमा नेप्से परिसूचक साढे ६ अंकले ओरालो लागेको छ । सो दिन कारोबार बन्द हुँदा नेप्से परिसूचक ६ दशमलब ५९ अंकले घटेर १६६० दशमलब ५२ अंकमा आइपुगेको छ । सोमबार बजार खुलेको १५ मिनेट नपुग्दै नेप्से परिसूचक ३ प्रतिशतले बढेर १५ मिनेट बन्द भएको थियो । त्यसपछिको केहि समय मै (अर्थात बजार खुलेको ३० मिनेट नपुग्दै) नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पुनः सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजेर ५९ मिनेट जाँदा बजार पुनः खुलेको थियो । परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा सुधार भएको छ । दुई पटक सर्किट ब्रेक लागेर खुलेको बजारमा २ अर्ब ५२ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन  कुल १४४ कम्पनीको ४३ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको १३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको क्रमशः १३ करोड ३१ लाख र १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । सो दिन बीमा र व्यापार समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा र व्यापार समूहको परिसूचक क्रमशः ६७.६५ र १.४१ अंकले उकालो लागेका छन् । त्यस्तै, होटल, हाइड्रोपावर र विकास समूहको परिसूचक क्रमशः ३५, २९ र १४ अंकले ओरालो लागेका छन् ।

सोमबार मात्रै पाँच कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन-कुनकोे भयो ?

काठमाडौं । सोमबार मात्रै पाँच वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सेञ्चुरी बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक र सेती फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेञ्चुरी बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य ३६२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३७१ रुपैयाँ रहने भएको छ । त्यस्तै, लक्ष्मी बैंकको शतप्रतिशत प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ । समायोजन पछिको सेयर मूल्य ४४९ रुपैयाँ तोकेको छ भने जसका लागि आधार मूल्य ४५५ रुपैयाँ रहने भएको छ । त्यसैगरि, सानिमा बैंकको ३० प्रतिशत प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । बैंकले समायोजन पछिको सेयर मूल्य ४६५ रुपैयाँ तोकेको छ भने जसका लागि आधार मूल्य ५२८ रुपैयाँ रहने भएको छ । त्यस्तै २० प्रतिशत बोनस पछि कृषि विकास बैंकको प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ५३० रुपैयाँ छ । नेप्सेले सेती फाइनान्सको पनि ३.६ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको छ । जसको आधारमूल्य २५२ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।