पहिलो दिनमै ६ अर्ब नाघ्यो जीवन विकासको बजार पुँजीकरण, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बजार पुँजीकरण ६ अर्ब रुपैयाँ नाघेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै लघुवित्तको बजार पुँजीकरण ६ अर्ब १ करोड ७६ लाख ८४ हजार ४०० रुपैयाँ पुगेको हो । लघुवित्तले आज(साउन १४ गते) देखि दोश्रो बजारको यात्रा शुरु गरेको छ । साउन १३ गते नेप्सेमा सूचीकृत भएको संस्थाको आजदेखि दोश्रो बजारमा सेयर कारोबार शुरु भएको हो । पहिलो दिनमै संस्थाको पहिलो कारोबार ९१४ रुपैयाँबाट शुरु भएको थियो । जुन नेप्सेले तोकिदिएको मूल्यको करिब अधिकतम मूल्य हो । नेप्सेले संस्थाको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँ तोकेको थियो । यससँगै दिनभरको कारोबारमा लघुवित्तको सेयर मूल्य निरन्तर रुपमा बढेको थियो । र, बिहीबार बढी कमाउनेको दोश्रो स्थानमा पर्न सफल भएको छ । बजारमा लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता ९८९.१० रुपैयाँ पुगेको छ । जुन संस्थाको शुरुवाती मूल्यको तुलनामा ८.२२ प्रतिशत अर्थात प्रतिकित्ता ७५.१० रुपैयाँले बढी हो । बिहीबारको बजारमा कूल ९५ हजार २५७ रुपैयाँ बराबरको १०० कित्ता सेयर कारोबारमा किनबेच भएको छ । संस्थाको एकपटकमा १०/१० कित्ता गरी १० पटकमा १०० कित्ता सेयर किनबेच भएको हो । चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको कूल ६० लाख ८४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत (४१ लाख ६ हजार ७०० कित्ता) संस्थापक र ३२.५० प्रतिशत (१९ लाख ७७ हजार ३०० कित्ता) साधारण सेयर रहेका छन् । सम्बन्धित समाचार जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

काठमाडौं । जीवन विकास लघुवित्तको ६० लाख ८४ हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १३ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर बिहीबार (साउन १४ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘जेबीएलबी’ दिइएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

प्यान नम्बर अपडेट गराउन लगानीकर्तालाई नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर लगानीकर्तालाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) अपडेट गराउन आग्रह गरेको छ । अधिकांश लगानीकर्ताले फरक प्यान नम्बर अपडेट गरेको पाइएपछि नेप्सेले बुधबार एक सूचना जारी गर्दै उनीहरुलाई आफ्नो प्यान नम्बर ठीक हो वा होइन भन्नेमा यकिन गरेर मात्रै अपडेट गर्न आग्रह गरेको हो । नेप्सेले विगतदेखि नै सिडिएस एण्ड क्लियरिङ्गको सीएनएस सिष्टमबाट प्राप्त पुँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दै आएको छ । सो क्रममा अधिकांश लगानीकर्ताको प्यान नम्बर फरक फरक प्रविष्टि गरिएको पाईएपछि उक्त नम्बर आन्तरिक राजस्व विभागको साइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ । साथै, उक्त फरक प्यानले गर्दा लगानीकर्ताको प्यान नम्बरमा पुँजीगत लाभकर जम्मा नभएको गुनासो आएको नेप्सेले प्रष्टाएको छ । त्यस्तै, प्यान नम्बरको कारणले लगानीकर्ताको वास्तविक प्यान नम्बरमा पुँजीगत लाभकर नगएमा स्वयं ब्रोकर जवाफदेही हुनुपर्ने समेत नेप्सेले जनाएको छ ।