सेयर बजारमा उतारचढाव कायमै, प्राइम बैंकमा झुम्मिए लगानीकर्ता, टप गेनरमा अधिकांश म्युचुअल फण्ड
काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । सोमबाबर ११० अंकको उतारचढाव देखिएको बजारमा मंगलबार पनि ८४.९ बिन्दुको उतारचढाव देखिएको छ । मंगलबार कारोबार खुल्दा नेप्से परिसूचकले उकालोको यात्रा तय गरेको थियो । र, एक घण्टाको अवधिमै बढेर अधिकतम २५९०.७६ बिन्दुसम्म पुगेको थियो । तर, त्यसपछिको कारोबारमा भने परिसूचकले ओरालोको बाटो तय गर्यो । र, घटेर न्यूनतम २५०५.८६ बिन्दुसम्म पुग्यो । अन्त्यमा बजार बन्द हुँदा मंगलबारको नेप्से परिसूचक ३७.१८ बिन्दुले घटेर २५०८.९१ बिन्दुमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबारमा ३ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन सोमबारको तुलनामा एक अर्ब ४२ करोड रुपैयाँले घटी हो । सोमबारको बजारमा भने ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक पनि दोहोरो अंकले बढेको थियो । यसकारण प्राइम बैंकमा झुम्मिए लगानीकर्ता मंगलबारको बजारमा लगानीकर्ताहरु प्राइम कमर्शियल बैंकको सेयरमा झुम्मिएका छन् । बैंकको एकैदिन १२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको गत वर्षको प्रस्तावित लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन भएसँगै लगानीकर्ताको आकर्षण बैंकमा परेको हो । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि भोलि अर्थात मंसिर २२ गते बुक क्लोज गर्दै छ । यससँगै आजसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्ने लगानीकर्ताले बैंकको प्रस्तावित लाभांश पाउने छन् । त्यसैले पनि मंगलबार बैंकको सर्वाधिक कारोबार भएको हो । उच्च कारोबार भएको बैंकको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ४४३ रुपैयाँ पुगेको छ । प्राइम बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई आगामी पुस ६ गते हुने बैंकको चौधौं वार्षिक साधारणसभाले पारित गर्दै छ । त्यस्तै, १० करोडभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य ३ कम्पनी रहेका छन् । महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख, आईसीएफसी फाइनान्सको ११ करोड १ लाख र अपि पावरको १० करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुई समूहबाहेक सबै राताम्मे बजारमा १३ वटा समूह कारोबारमा आएका थिए । त्यसमध्ये म्युचुअल फण्ड र ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड र ट्रेडिङ्ग समूह पनि क्रमशः ०.१२ र २१.५३ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी घट्नेमा निर्जीवन बीमा समूह रहेको छ । उक्त समूह एकैदिन १६०.९८ बिन्दुले घटेको छ । टप गेनरमा अधिकांश म्युचुअल फण्ड मंगलबार टप गेनरको अग्रस्थानमा अधिकांश म्युचुअल फण्ड अन्तर्गतका कम्पनी रहेका छन् । जसको इकाई मूल्य ५ प्रतिशतभन्दा कमले बढेको छ । बजारमा सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी अर्थात ४.६५ प्रतिशतले बढेर प्रतिइकाई १०.१३ रुपैयाँ पुगेको छ । त्यस्तै, लक्ष्मी इक्विटी फण्डको ४.४९ प्रतिशत, एनआईबीएल प्रगति फण्डको ३.८९ र सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्य ३.५० प्रतिशतले बढेको छ । यससँगै मंगलबारको बजारमा ५ प्रतिशत भन्दा बढी सेयर मूल्य बढ्नेमा कुनै पनि कम्पनी देखिएनन् । मंगलबार टप लुजरको अग्रस्थानमा आईसीएफसी फाइनान्स रहेको छ । संस्थाको सेयर मूल्य ७.६५ प्रतिशतले घटेर प्रतिकित्ता ७१२ रुपैयाँमा झरेको छ ।
गणपति लघुवित्तको पुस ७ गतेदेखि बुक क्लोज
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आगामी पुस ७ गतेदेखि बुक क्लोज गर्न लागेको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस १७ गते शनिबार बिहान ११ बजे तनहुँको ह्वाइटहाउस पार्टी प्यालेसमा बस्दै छ । सभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १२ लाख ७३ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सभाले संस्थाको संस्थापक र सर्वसाधारण सेयरधनीकोतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन तथा मनोनयन समर्थन गर्दै छ ।साथै, एक वा एकभन्दा बढी लघुवित्तहरु मर्ज तथा एक्वायर गर्ने गरिने सम्बन्धी आवश्यक कार्यहरु गर्नको लागि सभाले सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरेको छ । संस्थाले पुस ७ गतेदेखि बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको १७ प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो । उक्त स्वीकृत लाभांशलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश प्रस्ताव गरेको हो । साविक मनकामना लघुवित्त वित्तीय संस्था र साविक स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच मर्जर कार्य सम्पन्न भई एकीकृत कारोबार गरेकाले घोषित लाभांशमा कर छुटको व्यवस्था रहेको छ । सोहि कारण संस्थाले कर प्रयोजनको नगद लाभांश नछुट्याएको जानकारी गराएको छ । हाल संस्थाको चुक्ता पुँजी १२ करोड ११ लाख रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ नाघ्ने छ । सम्बन्धित समाचार मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत बोनस सेयर दिने