वोमी लघुवित्तको पुस १ गतेदेखि बुक क्लोज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले आगामी पुस १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस १६ गते शुक्रबार बिहान ११ बजे काभ्रेपलाञ्चोकस्थित होटल अरनिकोको सभाहलमा बस्दै छ । सभाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, वोमी र सूर्योदय लघुवित्त एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले छलफल गरी पारित गर्ने विशेष प्रस्ताव गरेको छ । जसको लागि एक बराबर एकको सेयर स्वाप रेसियोलाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने छ । यससँगै मंसिर २९ गतेसम्म कायम सेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

फरवार्ड लघुवित्तको लाभांश घोषणा, बोनस र नगद दुबै बढ्यो

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७ प्रतिशत नगद(करसहित) र ३५ प्रतिशत बोनस गरी सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई समुन्नतको मूल्य समायोजन

काठमाडौं । प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई समुन्नत स्किम १ को सेयर मूल्य समायोजन भएको छ । यी दुई संस्थाको क्रमशः बोनस र नगद लाभांश पश्चात दोश्रो बजारमा सेयर मूल्य समायोजन भएको हो । जसमध्ये प्राइम बैंकको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४४३ रुपैयाँमा भएको थियो । त्यस्तै, ग्लोबल आईएमई समुन्नतको १०० प्रतिशत नगद लाभांशपश्चात इकाई मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको इकाई मूल्य १०.८८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिइकाई २०.८८ रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।