मेरो माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत लाभांश पारित

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१.०५२ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २४ गते सम्पन्न बैंकको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै, सभाले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित समेत पारित गरेको छ ।   सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालक निर्वाचित गरेको छ । सञ्चालक समितिमा संजिव मानन्धर, सुमित बाबु खत्रि, कल्याण विक्रम पाण्डे र सजना मानन्धर निर्विरोध निर्वाचित भएका छन् । सभापछि बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्जिव मानन्धरलाई अध्यक्षमा सर्वम्मत चयन गरेको छ ।  

२३ कम्पनीको २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षमा मात्रै २ अर्ब रुपैयाँ बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डमा २३ वटा कम्पनीको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१ रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । गत ४ महिना (साउन-कार्त्तिक) यता सूचीकृत विभिन्न कम्पनीको २ करोड ८ लाख ११ हजार ३५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । विभिन्न समूहकमध्ये इन्स्योरेन्स, लघुवित्त, फाइनान्स, हाइड्रो, विकास बैंक र अन्य समूह अन्तर्गतका विभिन्न कम्पनीको सो मात्राको सेयर सूचीकृत भएको हो । जसमध्ये अधिकांशको आर्थिक वर्ष २०७६/७७को र केही हाइड्रोको आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर सूचीकृत भएको हो । त्यसमा पनि अन्य समूह अन्तर्गतको नागरिक लगानी कोषको सबैभन्दा बढी रहेको छ । कोषको २७ लाख कित्ता अर्थात २७ करोड रुपैयाँ बराबरको बोनस सेयर गत साउन २८ गते धितोपत्र बोर्डमा सूचीकृत भएको हो । हालसम्म बोनस सेयर सूचीकृत गर्नेमध्ये अधिकांश माइक्रोफाइनान्स समूहका कम्पनी रहेका छन् । ११ वटा माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७६र७७ को बोनस सेयर सूचीकृत गरेका हुन् । बोनस सेयर सूचीकृत गर्नेमा फर्वार्ड माइक्रोफाइनान्स, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र जनउत्थान लघुवित्त वित्तीय संस्था रहेका छन् । जसमध्ये फर्वार्डको १२ करोड ५१ लाख, नेपाल एग्रोको ८ करोड २१ लाख, मिथिलाको १ करोड ४६ लाख, सबैको लघुवित्तको १ करोड ९५ लाख, नयाँ सारथीको १ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, सूर्योदय लघुवित्तको ३ करोड ३० लाख, स्वावलम्बनको १५ करोड ६ लाख, नेरुडेको ३ करोड ६५ लाख, माहुलीको ३ करोड ७३ लाख, उन्नति सहकार्यको २ करोड ६६ लाख र जनउत्थान सामुदायिक लघुवित्तको ३ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी इन्स्योरेन्स समूहका ५ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । बोर्डका अनुसार हाससम्ममा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेको र एनएलजी इन्स्योरेन्सले अघिल्लो वर्षको बोनस सेयर सूचीकृत गरेका छन् । जसमा प्रुडेन्सियलको ८ करोड २१ लाख, लुम्बिनी जनरलको ५ करोड ७० लाख, सिद्धार्थ इन्स्योरेन्सको १२ करोड, नेकोको २० करोड ४२ लाख र एनएलजी इन्स्योरेन्सको १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । उता फाइनान्स र विकास बैंक समूहका एक एक वटा कम्पनीको मात्रै बोनस सेयर सूचीकृत भएको छ । फाइनान्स समूहको रिलायन्स फाइनान्सले मात्रै आर्थिक वर्ष २०७६र७७ को बोनस सेयर सूचीकृत भएको छ । फाइनान्सले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत अर्थात ८ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा सूचीकृत भएको छ । त्यस्तै, विकास बैंक समूह अन्तर्गतको ग्रीन डेभलपमेन्ट बैंकको १ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा सूचीकृत भएको हो । उता जलविद्युत समूहका ४ कम्पनी रहेका छन् । जसमध्ये राधी विद्युत् कम्पनीबाहेक बाँकी कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर सूचीकृत भइसकेको छ । राधी विद्युत् कम्पनीको भने आर्थिक वर्ष २०७६/७७ को १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा दर्ता भएको छ । यता गत आर्थिक वर्षको बोनस सेयर सूचीकृत गर्नेमा अपि पावर, सिनर्जी पावर डेभलपमेन्ट र न्यादी ग्रुप पावर रहेका छन् । जसमध्ये अपिको १०.५० प्रतिशत अर्थात २६ करोड २१ लाख रुपैयाँ बराबरको बोनस सेयर रहेको छ । त्यस्तै, सिनर्जी पावरको ७ करोड ३३ लाख रुपैयाँ र न्यादी ग्रुपको ११ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर धितोपत्र बोर्डमा सूचीकृत भइसकेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सको पुस ९ गतेदेखि बुक क्लोज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आगामी पुस ९ गतेदेखि बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ । उक्त सभा सो दिन बिहान विराटनगरको होटल हैरिसन प्यालेसमा बस्दै छ । सभाले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त लाभांश खान इच्छुकले आगामी पुस ८ गतेभित्र इन्स्योरेन्सको सेयर खरिद तथा होल्ड गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ छ ।