पुँजीबजारलाई ध्वस्त बनाउने मौद्रिक नीति, छिटोभन्दा छिटो खारेज गर्न माग
काठमाडौं । पुँजीबजारका लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीति पुँजीबजारलाई ध्वस्त बनाउने नीति रहेको धारणा राखेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकले गत शुक्रबार साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिले साना लगानीकर्ताको नाममा समग्र पुँजीबजारलाई ध्वस्त बनाउने नीति रहेको टिप्पणी गरेका हुन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने नयाँ व्यवस्था गरेको थियो । जसमा पुँजीबजारका लगानीकर्ताले आपत्ति जाउँदै यसलाई हटाउनमा माग गरेका छन् । पुँजीबजारका लगानीकर्ता संगठनमध्ये नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले आज साउन ३१ गते अर्थमन्त्री जनार्दन शर्मासमक्ष मौद्रिक नीतिको सम्बन्धमा ज्ञापनपत्र बुँझाउँदै पुरानो व्यवस्थालाई निरन्तरता दिन आग्रह गरेका छन् । यो नयाँ नीतिले सेयर बजारमा सेयर कर्जामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने बहानामा उल्टो साना लगानीकर्ताको नाममा समग्र पुँजीबजारलाई ध्वस्त बनाउने अभिप्रायले यस्तो कर्जा नीति ल्याईएको उनीहरुको प्रतिकृया रहेको छ । यससँगै यो नीतिलाई छिटोभन्दा छिटो खारेज गरी पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने उनीहरुको माग छ । सेयर कर्जालाई प्रौत्साहित गर्नुको सट्टा व्यक्तिगत तथा संस्थागत कर्जा सिमाप्रति वित्तीय संस्था ४ करोड र वित्तीय प्रणाली बाट १२ करोडसम्मको सिमा तोक्नुले पुँजीबजारलाई विकसित गर्नु नभई संकुचित गर्न खोजिएको लगानीकर्ताहरु बताउँछन् । पुरानो व्यवस्थामा भने उक्त कर्जामा कुनै पनि सीमा तोकिएको थिएन ।
मिर्मिरे लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने, कर नलाग्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस सेयर दिने प्रस्ताव गरेको हो । संस्थाले नगद लाभांश प्रस्ताव भने गरेको छैन । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्तीको काम सम्पन्न गरी दुई संस्था प्राप्ती गरी एकीकृत कारोबार शुरु गरेकोले संस्थाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । यससँगै आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले कर प्रयोजनको लागि नगद लाभांश नछुट्याइएको संस्थाले जानकारी गराएको छ । संस्थाको बोनस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित २० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५२ करोड २० लाख रुपैयाँ पुग्ने छ ।
सेयर बजारमा पहिरो, दुई समूहबाहेक सबै राताम्मे
काठमाडौं । आइतबारको सेयर बजारमा पहिरो लागेको छ । नियमित कारोबार खुलेको पौने दुई घण्टामै सेयर कारोबारमा मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । दिउँसो १२ बजेर ३९ मिनेट जाँदा नेप्से परिसूचक ७३ अंकले घटेर ३१०५ बिन्दुुसम्म झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २ प्रतिशतभन्दा बढी हो । यो समाचार तयार पार्दासम्म बजारमा ९ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्ममा २१५ कम्पनीको एक करोड ५८ लाख ७० हजार २९७ कित्ता सेयर किनबेच भइरहेको छ । दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक र माइक्रोफाइनान्स समूह क्रमशः १०८ र २२ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।