जीवन विकास लघुवित्तको सेयर मूल्य ११९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?
काठमाडौं । जीवन विकास लघुवित्तको सेयर मूल्यमा निरन्तर सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयरमा आज पनि बजार खुलेको केही समयमै सर्किट लागिसकेको छ । यससँगै आज मंगलबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँ माथि पुगेको छ । सो दिन कम्पनीको सेयर कारोबार प्रतिकित्ता १८५८ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । यससँगै नियमित बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २००४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशत अर्थात १८२.२० रुपैयाँ बढी हो । त्यस्तै, उक्त रकम कम्पनीको पहिलो कारोबारको तुलनामा ११९.३२ प्रतिशतले बढी हो । दोश्रो बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो । कम्पनीले गत साउन १४ गतेदेखि दोश्रो बजारमा कारोबारमा शुरु गरेको हो । कारोबार शुरु गरेको दुई साता नबित्दै संस्थाको सेयरको भाउ दुई हजार माथि पुगिसकेको छ । सोमबारसम्मको संस्थाको चार्ट यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर किन्नेको उच्च चाप देखिएको छ भने बेच्ने कोही पनि देखिएका छैनन् । दिउँसो साढे १२ बजेसम्मको अवधिमा कम्पनीको ४ लाख १३ हजार ३९२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ । तर, बिक्रीकर्ता कोही पनि छैनन् । सोमबारको कम्पनीको बजार पुँजीकरण ११ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो । जुन मंगलबारको बजारमा बढेर १२ अर्ब १९ करोड रुपैयाँ नाघ्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । नेप्सेमा संस्थाको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत अर्थात ४१ लाख ६ हजार ७०० कित्ता सेयर संस्थापकको स्वामित्व हो भने बाँकी ३२.५० प्रतिशत अर्थात १९ लाख ७७ हजार ३०० कित्ता सेयर सर्वसाधारणको रहेको छ ।
मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड भोलि
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) भोलि साउन २६ गते बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भोलि बिहान ९ बजे काठमाडौको नक्सालस्थित आफ्नै कार्यालयमा सेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सो दिनदेखि अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणमा बिक्री गरिएको थियो । बिक्री प्रबन्धकका अनुसार उक्त आईपीओमा २१ लाख १८ हजार ९२५ आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जुन कम्पनीले माग गरेकोभन्दा बढी हो । मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड गर्ने छ । यससँगै आईपीओमा रितपूर्वक आवेदन दिनेमध्ये ६६ हजार ८७४ जनाले कम्पनीको सेयर हात पार्न सक्ने छन् भने बाँकी २० लाखभन्दा बढीको हात खाली हुने देखिएको छ ।
सिनर्जी पावरले लाभांश पछि हकप्रद सेयर जारी गर्ने
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले २०७८ असारसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साउन २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ७३ करोड ३२ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीले बोनस पश्चात कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई सभाले पारित गरेपश्चात कम्पनीको चुक्ता पुँजी १२ करोड ९ लाख रुपैयाँ पुग्ने छ ।