साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १६ लाख ३ हजार ५ सय ८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन् ।
स्टक डिलरका लागि ११२ कम्पनी कारोबार योग्य, नेप्सेको नयाँ सूची सार्वजनिक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारीहरूका लागि कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद(२ अन्तर्गत दफा ३(२) बमोजिम आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूको सूची दफा ३(३) अनुसार अद्यावधिक गरी सार्वजनिक गरिएको जनाएको छ । सोही कार्यविधिको दफा ३(१) मा व्यवस्था भएअनुसार उक्त सूची सार्वजनिक गरिएको हो । नेप्सेद्वारा सार्वजनिक गरिएको सूचीअनुसार कुल ११२ वटा सूचीकृत कम्पनीहरू धितोपत्र व्यापारीका लागि कारोबारयोग्य रहेका छन् । जसमा १९ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ५ वटा फाइनान्स कम्पनी, २६ वटा लघुवित्त वित्तीय संस्था, ७ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी कम्पनी, २ वटा उत्पादन तथा प्रशोधन उद्योग, २५ वटा जलविद्युत् कम्पनी र २ वटा अन्य समूहका कम्पनीहरू समावेश छन् ।
सिद्धार्थ फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडले आईपीओ गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा। ऋषिराम शर्माले तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेस अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । विसं २०४३ माघ ११ गते स्थापना भएको सिद्धार्थ फर्मास्युटिकल्सले २०४६ सालदेखि औपचारिक उत्पादन सुरु गरेको थियो । कम्पनीले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादनमार्फत नेपाली स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएको छ । कम्पनीले डब्ल्यूएचओ-जीएमपी प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । कम्पनीको मूल लक्ष्य ‘कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधीबाट वञ्चित नहोस्’ भन्ने रहेको छ। सिद्धार्थ फर्मास्युटिकल्सको अत्याधुनिक उत्पादन प्लान्ट रूपन्देही जिल्लाको तिलोत्तमा–१५ मा अवस्थित छ । प्लान्टको भौतिक संरचना तथा उत्पादन प्रक्रिया डब्ल्यूएचओ-जीएमपी मापदण्ड अनुरूप रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार उत्पादन इकाइहरूमा अत्याधुनिक तथा विश्वस्तरीय उपकरण प्रयोग गरिँदै आएको छ ।