सेयर बजारमा १११.७० अंकको उछाल, ९ अर्ब बढी कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार  १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा पुगेको छ।  जेनजी प्रदर्शनपछिको पहिलो दिन १६० अंकले घटेर  सेयर बजार क्र्यास भएको थियो । गत बिहीबार बजार परिसूचक नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको थियो ।  आज कारोबार रकमसमेत ९ अर्ब १९ करोड पुगेको छ । २ करोड कित्ता खरिदबिक्रीमा उक्त परिमाणको कारोबार भएको  हो ।  आज २२४ वटा सेयरको मूल्य बढ्दा २८ वटाको घटेको छ ।  आज निर्जीवन बिमा र म्युचुअल फन्डबाहेक सबै सूचक बढेका छन् । निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै ३.५३ प्रतिशत मूल्य घटेको छ भने ट्रेडिङ समूहमा सबैभन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ ।  त्यस्तै, इन्भेस्टमेन्ट समूहमा ७.७७ प्रतिशत, विकास बैंकमा ६.३४ प्रतिशत, फाइनान्स समूहमा ६ प्रतिशत, हाइड्रो समूहमा ५.९८ प्रतिशत तथा जीवन बिमा समूहमा ५.९३ प्रतिशत वृद्धि भएको छ ।  त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ४.८६ प्रतिशत, बैंकिङमा ४.७६ प्रतिशत तथा माइक्रो फाइनान्समा ४.०३ प्रतिशत मूल्य बढेको छ । बजारमा आज १६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडबिल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ ।  सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो । उक्त कम्पनीको ८३ करोडको कारोबार भएको हो ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको आठौं वार्षिक सभा सम्पन्न

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।  प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले कम्पनीको उद्देश्य परिवर्तन र सर्वसाधारणमा सेयर जारी गर्नु पर्ने आवश्यकताका बारेमा प्रकाश पारेका थिए । अध्यक्ष शाहले मन्तव्य प्रस्तुत गर्दै नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमको बारेमा जानकारी गराए ।  साधारण सभामा संस्थापकहरू रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रीत मनोरञ्जन रमण शर्मा र  विजय बहादुर शाहले  कम्पनीको बारेमा विभिन्न जिज्ञासा राखेका थिए । सभाले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने र आव २०८२/०८३ को लागि लेखा परीक्षकको नियुक्ति पारित गरेको थियो ।  त्यसैगरी, जारी तथा चुक्ता पूँजी ५० करोड पुर्‍याउने क्रममा प्रिमियममा थप संस्थापक सेयर बिक्री गर्न, ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभावाट सर्वसम्मतले अनुमोदन भएको छ । नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको  हो । यो कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा रहेको छ ।

सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

काठमाडौं । सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि हटाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।  गत वर्षको चैत ७ गतेदेखि लागु हुने गरेर नेप्से अन्तिम १५ मिनेटको बजार कारोबारलाई आधारित मानेर भारित औषत गणना गर्ने निर्णय गरेको थियो । तर, उक्त विधिका कारण सेयर मूल्यमा म्यानुपुलेट भएको भन्दै लगानीकर्ताले हटाउनुपर्ने माग गरिरहेका थिए । प्रवक्ता पराजुलीका अनुसार, आज परीक्षण गरिएको यो व्यवस्था ६ असोजबाट लागू हुनेछ । तर, भोलि घटस्थापनामा सार्वजनिक बिदा भएको कारण बजार बन्द रहनेछ ।