नेप्सेको ३ अर्ब रुपैयाँ पुँजी पुर्याउन तीन विकल्प प्रस्ताव

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुँजी वृद्धिका लागि विभिन्न तीन वटा विकल्प अघि सारिएका छन् । प्रकाश जङ्ग थापाको नेतृत्वमा गठित नेप्से पुनर्संरचना सम्बन्धी सुझाव समितिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि नेप्सेको पुँजी हालको स्तरमा अपर्याप्त रहेको र तीन वटा विकल्पसहित पुँजी वृद्धि गर्न सकिने सुझाव पेस गरेको हो ।  धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ अनुसार दोस्रो बजार सञ्चालक संस्थाले न्यूनतम् ३ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था छ । यद्यपि, सो नियमावलीले नेप्सेलाई उक्त प्रावधानबाट उन्मुक्ति दिएको भए पनि आधुनिक र विकसित दोस्रो बजार सञ्चालकले प्रदान गर्नुपर्ने सम्पूर्ण सेवा र दायित्व वहन गर्नुपर्ने हुन्छ । प्रतिवेदनमा प्रविधि, मानव संसाधन, भौतिक पूर्वाधार, अनुसन्धान तथा विकास, सेवा विस्तार तथा सहायक संस्थाको विकासका लागि आगामी दिनमा उल्लेख्य लगानी आवश्यक पर्ने उल्लेख छ । हाल नेप्सेको पुँजी लगानी करिब १ अर्ब रुपैयाँ मात्र रहेको र यो दीर्घकालीन उद्देश्य पूरा गर्न पर्याप्त नदेखिएको समितिको ठहर छ । यस्ता छन् तीन विकल्प  समितिले नेप्सेको पुँजी वृद्धि गर्न तीन विकल्प सुझाएको छ । पहिलो विकल्पअन्तर्गत नेप्सेले अवितरित मुनाफालाई बोनस सेयरमार्फत पुँजीकरण गर्न सक्ने उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार नेप्सेसँग २ अर्ब १७ करोड रुपैयाँ संचित मुनाफा र १ अर्ब ९५ करोड रुपैयाँ जगेडा कोष गरी कुल ४ अर्ब १२ करोड रुपैयाँ सञ्चिति रहेको छ । यसलाई बोनस सेयरका रूपमा पुँजीकरण गरेमा ३ अर्ब रुपैयाँ चुक्ता पुँजीको मापदण्ड सहजै पूरा गर्न सकिने समितिको भनाइ छ । यद्यपि, बोनस सेयर जारी गर्नुअघि रणनीतिक साझेदारसम्बन्धी स्पष्टता आवश्यक रहने उल्लेख गरिएको छ । दोस्रो विकल्पमा हकप्रद सेयर जारी गरी पुँजी जुटाउने प्रस्ताव गरिएको छ । यसमा विद्यमान सेयरधनीहरूले आफ्नो स्वामित्व अनुपातअनुसार थप लगानी गर्नुपर्ने हुन्छ । यस विकल्पबाट सेवा विस्तारका लागि आवश्यक नगद परिचालन हुने भए पनि सेयरधनीहरू थप लगानी गर्न अनिच्छुक हुन सक्ने जोखिम रहेको प्रतिवेदनमा औंल्याइएको छ । तेस्रो विकल्पअन्तर्गत नयाँ सेयर जारी गरी पुँजी वृद्धि गर्ने सुझाव दिइएको छ । यसबाट रणनीतिक साझेदार, संस्थागत लगानीकर्ता वा सर्वसाधारणलाई सेयर निष्कासन गर्न सकिने र प्रिमियमसहित थप पुँजी परिचालन हुने समितिको भनाइ छ । तर, यसले नेप्सेको विद्यमान स्वामित्व संरचनामा परिवर्तन ल्याउने सम्भावना रहने उल्लेख गरिएको छ । समितिका अनुसार पहिलो र दोस्रो विकल्प सञ्चालक समितिको निर्णयपछि अर्थमन्त्रालयको सहमति र साधारण सभाबाट पारित गरी छोटो अवधिमै कार्यान्वयन गर्न सकिने छन् । तेस्रो विकल्प भने सेबोनको स्वीकृति, सेयर मूल्याङ्कन र निष्कासन प्रक्रियासहित दुई वर्षसम्म लाग्न सक्ने प्रतिवेदनमा उल्लेख छ । समितिले नेप्सेको दीर्घकालीन सुदृढीकरण र सेवा विस्तारका लागि समयसापेक्ष रूपमा पुँजी वृद्धि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

सेयर बजारमा हरियाली : नेप्से २७ अंकले बढ्यो, कारोबार ११ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । दुई दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ । यता, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, राधी विद्युत कम्पनीको साढे ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ ।

होटेल फरेष्ट इनको आईपीओ बिक्री खुला, २ लाख कित्ता आवेदन दिन मिल्ने

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।