रिज लाइन इनर्जीको आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । रिज लाइन इनर्जीले आज माघ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा २८ हजार ४४० कित्ता कर्मचारी, ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँको ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा फागुन १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  

हिमालयन बैंकबाट एकैपटक ६ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । हिमालयन बैंकबाट एकैपटक ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका अनुसार प्रमिला अर्यालले ७४ हजार ७५ कित्ता, तुलसी प्रसाद अधिकारीले ७४ हजार ७५ कित्ता, अमिर रत्न डंगोलले ३ लाख १७ हजार ४७३ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  यस्तै, मिना महर्जनले ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न हर्जनले ३ लाख १७ हजार ४७३ कित्ता र त्रिमीर महर्जनले १ लाख ५ हजार ८२३ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । खरिख गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री हुन नसकेको खण्डमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

१७९ कम्पनीको सेयर मूल्य घट्यो, ८ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २६६२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार २३४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोको भएको छ । अरुण भ्यालीको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको ४० करोड, रिडि पावरको ३८ करोड र युनियन हाइड्रोको ३२ करोड रुपैयाँको कारोबार भएको छ ।