युनिलिभर नेपालको लाभांश घोषणा, प्रतिसेयर १८४२ रुपैयाँ बाँड्ने
काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २५ गते ३२औँ वार्षिक साधारण सभा डाकेको कम्पनी सचिव गोविन्द बहादुर शाहीले जानकारी दिए । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
५८ अंकले बढ्यो नेप्से, ८ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचक ५८ अंकले बढेर २६८२ बिन्दुमा पुगेको छ । आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ । मंगलबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनिर्भसल पावर कम्पनीको १८ करोड, हिमालयन डिस्टीलरीको १८ करोड, शिवम् सिमेन्टको १६ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार समूह १.८३ प्रतिशतले बढेको छ । आज ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट, एसियन हाइड्रोपावर र हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
एसवाई प्यानलको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । एसवाई प्यानल नेपालले आज असोज ७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । यसअघि भदौ २९ गतेदेखि बिक्री गर्ने भनिएको आईपीओ देशमा उत्पन्न विषम परिस्थितिका कारण आजदेखि बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।