मायाखोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । मायाखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ। सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनीतर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । मायाखोला हाइड्रोपावरको स्थापना २०६७ सालमा प्रालिको रूपमा भई २०७३ सालमा लिमिटेडमा रूपान्तर भएको हो । यस कम्पनीले संखुवासभा जिल्लामा १४.९ मेगावाट क्षमताको मायाखोला हाइड्रोपावर आयोजनाको निर्माण गरी २०८० को असारदेखि विद्युत उत्पादन गर्दै आइरहेको छ ।  यस कम्पनीले सर्वसाधारणहरूलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो ।

होटल फरेष्ट इनको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख ३२ हजारलाई १०–१० कित्ता

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् रु. ४० करोड बराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गरिएको थियो । कुल निष्काशनमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि तथा ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो ।  उक्त सुरक्षित वर्गको बाँडफाँडपश्चात् बाँकी रु. ३३ करोड २० लाख बराबरका ३३ लाख २० हजार कित्ता सेयर मिति २०८२ माघ २२ गतेदेखि छिटोमा २०८२ माघ २६ गते र ढिलोमा २०८२ फागुन ८ गतेसम्म खुला गरिएकोमा मागभन्दा बढी आवेदन परेपछि २०८२ माघ २६ गतेमै निष्काशन बन्द गरिएको थियो । आईपीओ अवधिमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत २६ लाख ६० हजार ४५२ जना आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयरका लागि आवेदन परेको थियो । तीमध्ये विभिन्न कारणले २ लाख ५५ हजार ९७५ जना आवेदकका ३८ लाख २१ हजार ५०० कित्ता बराबरका आवेदन रद्द गरिएका थिए । रद्दपश्चात २४ लाख ४ हजार ४७७ जना आवेदकबाट २ करोड ६१ लाख ५७ हजार ३६० कित्ता बराबरको आवेदन अन्तिम रूपमा स्वीकृत भएको प्रबन्धकले जनाएको छ। निष्काशन तथा बिक्री प्रबन्धकले आवेदन रुजु गर्दा ३ हजार २९३ जना आवेदकबाट ३६ हजार २५० कित्ता बराबरका दोहोरो आवेदन रद्द गरेको जनाएको छ ।  त्यस्तै, २९ हजार ३६० जना आवेदकका ३ लाख ६६ हजार ६२० कित्ता बराबरका आवेदन, वैदेशिक रोजगारी कोटामा आवेदन दिएका तथा ५०९ जना संस्थापक सेयरधनीका ८ हजार ७९० कित्ता बराबरका आवेदन समेत गरी कुल ३३ हजार १६२ जना आवेदकका ४ लाख ११ हजार ६६० कित्ता बराबरका आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको थियो । बाँकी रहेका २३ लाख ७१ हजार ३१५ जना आवेदकबाट प्राप्त २ करोड ५७ लाख ४५ हजार ७०० कित्ता बराबरका आवेदनमध्ये गोलाप्रथामार्फत ३ लाख ३२ हजार सफल आवेदक छनोट गरी प्रत्येकलाई १०–१० कित्ताका दरले कुल ३३ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।  बाँडफाँड कार्यक्रम निष्काशन तथा बिक्री प्रबन्धक, कम्पनी, नियमनकारी निकायका प्रतिनिधि तथा सर्वसाधारण लगानीकर्ताको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।

एकल अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजार एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा कायम भएको छ ।  आज ३३५ स्टकको ८० हजार ५५९ पटक कारोबारमा १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  सोमबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पेलिग्स मिल्स र साल्पा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, खानीखोला हाइड्रोपावरको सेयरमूल्य ९.३८ प्रतिशतले घटेको छ । आज कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  त्यसैगरी, आंखुखोलाको ५२ करोड ३६ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ । न्यादी ग्रुप पावरको ४८ करोेड २७ लाख रुपैयाँको कारोबार भएको छ । १३ उपसमूहमध्ये ३ उपसूमहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ । वित्त ०.५६, होटल तथा पर्यटन ०.४३ र उत्पादन ०.४९ प्रतिशतले बढेको छ । बैंकिङ ०.१२, विकास बैंक ०.४६, हाइड्रोपावर १.०२, लगानी ०.६१, जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.२३, म्युचल फण्ड ०.२१ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ०.५२, अन्य ०.०७, व्यापार ०.६८ प्रतिशतले घटेको छ ।