काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता लगातार पाँचै दिनको कारोबार ओरालो लागेको छ । साताको सुरुवात सोमबार २ हजार ७००.६५ अंकबाट भएको बजार अन्तिम कारोबार दिन शुक्रबार २ हजार ६४९.५१ अंकमा बन्द भएको छ । यो साता बजार ५१.१४ अंक घटेको हो ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से १.४६ अंकले घटेको थियो । त्यसपछि मंगलबार सबैभन्दा ठूलो गिरावट देखिँदा परिसूचक २६.१६ अंकले ओरालो लाग्यो । बुधबार १४.४५ अंक, बिहीबार ८.५० अंक र शुक्रबार थप २ अंकले घटेपछि बजार लगातार पाँच दिन नै नकारात्मक रह्यो ।
साताभर नेप्सेमा करिब १८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पाँच कारोबार दिनमा करिब ३ करोड ६१ लाख कित्ता सेयर किनबेच भएका छन् ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी ४ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै सोमबार ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ, मंगलबार ४ अर्ब १७ करोड ६३ लाख रुपैयाँ, बिहीबार २ अर्ब ८० करोड ५० लाख रुपैयाँ र शुक्रबार २ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताको अन्तिम दिन शुक्रबार ५७ लाख ७ हजार ५०८ कित्ता सेयर ३८ हजार ७७२ पटक किनबेच हुँदा २ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।