सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो
काठमाडौं । सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । गत भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
भगवती हाइड्रोको २० प्रतिशत लाभांश घोषणा, सेयरधनीले तिहार अघि नै पाउने
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश सेयरधनीहरुले तिहार अघि नै पाउने भएका छन् । लाभांश पारित गर्न कात्तिक २ गते बिहान ११ बज पोखरामा २५औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको जारी पुँजी वृद्धि गरी ६७ करोड ८२ लाख ३९ हजार रुपैयाँ पुर्याउने, सञ्चालक समतिको गठन र ७ जना (एक जना महिला समेत ६ जना र एक जना स्वतन्त्र) कायम गर्ने, सञ्चालकमा नियुक्ति हुनको १ सय कित्ता सेयर हुनुपर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकका सेयरधनीलाई तिहार अघि नै लाभांश, २ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने
काठमाडौं । सानिमा बैंकले तिहार अघि नै सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएको छ । बैंकले तिहार अघि नै सेयरधनीहरूलाई लाभांश वितरण गर्ने गरी साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा डाकेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित १ सय रुपैयाँ अंकित मूल्य दरले २ अर्ब रुपैयाँको ‘८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई वृद्धि गरी २२ अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारी गरे पश्चात् सोहि हदसम्म बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी सानिमा क्यापिटल र सानिमा सेक्युरिटिजको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरूको निर्वाचन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।