एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज असोज २१ गते अन्तिम दिन रहेको छ । असोज ७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

सुमेरु पोलिमर्सले आईपीओ निष्काशन गर्ने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हाे । कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा गत असोज १२ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

सिटिजन्स क्यापिटलद्वारा २८ करोडभन्दा बढी प्रतिफल वितरण

काठमाडौं । सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलमार्फत करिब  २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ अन्तर्गतका इकाइधनीहरूले करसहित ८.२५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सोही योजना अन्तर्गतको लाभांश २०८२ भदौ २० गतेदेखि वितरण सुरु गरिएको छ । यस्तै, सिटिजन्स सुपर–३० म्युचुअल फण्डका इकाइधनीहरूले करसहित १२.७५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सिटिजन्स म्युचुअल फण्ड–१ गत २०८१ माघ १९ गते परिपक्व भइसकेको छ । सो फण्डले खुद सम्पत्ति मूल्य  ११.३० को दरले अन्तिम वर्षको १३ प्रतिशत लाभांश (१० करोड ६६ लाख ३ हजार ७२३ सहित) २०८२ जेठ २७ गतेदेखि वितरण गरिरहेको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले आफ्नै मुनाफाबाट आफ्ना सेयरधनीलाई ३ करोड २० लाख नगद लाभांश २०८२ भदौ २० गतेदेखि वितरण गर्न थालेको छ । सिटिजन्स क्यापिटलले विगतमा घोषणा गरिएका तर अझै नलिइएका लाभांश रकम लिन बाँकी रहेका इकाइधनीहरूले हितग्राही खाता तथा बैंक विवरण अद्यावधिक गरी सम्पर्क गर्न आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, अण्डरराइटिङ, सेयर रजिष्ट्रार तथा डिम्याट खाता सेवा गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी हो  । कम्पनीमा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ  ।