अप्पर लोहोरे खोलाको हकप्रद सेयर निष्काशनमा एनआईसी एशिया बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ०४० कित्ता सेयर बराबरको चुक्ता पुँजीको आधारमा १ः१.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ०६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसबाट कुल ७६ करोड ४७ लाख ०६ हजार रुपैयाँ बराबरको रकम संकलन हुनेछ । हकप्रद सेयर निष्काशनसम्बन्धी कार्यका लागि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत सदिक्षा काकी र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष र डिबेन्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन सम्पन्न गरिसकेको छ । यस सेवामार्फत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम संकलन गराउन सफल भएको कम्पनीले जनाएको छ ।  

धितोपत्र अभौतिक सञ्चालन निर्देशिका २०८२ सार्वजनिक

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लि (सीडीएससी) ले ‘धितोपत्र अभौतिक सञ्चालन निर्देशिका, २०८२’ सार्वजनिक गरेकाे छ । सोमबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा कार्यक्रम आयोजना गरी सीडीएससी​​​​​​ले साे  निर्देशिका सार्वजनिक गरेकाे हाे । सीडीएससीका अनुसार हाल संस्थापक र सर्वसाधारण सेयर फरक–फरक ISIN मा रहेका कारण डेटा मिलान, अभिलेख व्यवस्थापन तथा कानुनी प्रक्रियामा जटिलता देखिएको छ। प्रस्तावित निर्देशिकाले आवश्यक प्रक्रिया पूरा गरी एउटै ISIN मा मर्ज गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ। यस्तो मर्ज प्रक्रियामा लगानीकर्ताबाट कुनै अतिरिक्त शुल्क नलाग्ने सिडिएससीले उल्लेख गरिएको छ। उक्त निर्देशिका स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड समक्ष पेश गरिएको सिडिएससीलेले जनाएकाे छ निर्देशिका कार्यान्वयन अघि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । स्वीकृतिपश्चात मात्र यो लागू हुनेछ। संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गर्नुअघि कम्पनीको वार्षिक साधारण सभाबाट पारित गराई सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ । सीडीएससीले पूँजी बजारमा तथ्यांक एकरूपता, विश्वसनीयता तथा पारदर्शिता कायम गर्न, लगानीकर्ताको कानुनी तथा आर्थिक अधिकार संरक्षण गर्न र समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त निर्देशिका ल्याएको जनाएको छ । प्रस्तावित व्यवस्थाअनुसार संस्थापक सेयरलाई ‘लक–इन अवधि’भित्र सर्वसाधारण सेयरभन्दा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर प्रदान गरिनेछ भने लक–इन अवधि समाप्तिपश्चात आवश्यक प्रक्रिया पूरा गरी एउटै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बरमा मिसाउन सकिने व्यवस्था गरिएको छ । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने उल्लेख गरिएको छ । सीडीएससीका अनुसार, यस व्यवस्थाले पूँजी बजारमा तथ्यांक शुद्धता, विश्वसनीयता तथा निष्ठा अभिवृद्धि गरी दीगो आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ ।   आयोजित कार्यक्रममा नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल धितोपत्र बोर्डका पदाधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधि, विभिन्न संघ–संस्था तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

११३ कम्पनीको सेयर मूल्य बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले बढेर २६१६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार ११३ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ३६ करोड रुपैयाँको कारोबार भएको छ । साथै रिडि पावरको ३२ करोड, एसवाई प्यानलको २८ करोड, सीईडीबी होल्डीङको १८ करोड र न्यादी गुप्रको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  सोमबारको कारोबारमा १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।  साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।