एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक सीताराम थपलियाको राजीनामा

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक सीताराम थपलियाले दिएको राजीनामा स्वीकृत भएको छ ।

असार २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले थपलियाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलका अनुसार कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा (३) (ग) बमोजिम सञ्चालकको राजीनामा स्वीकृत गरिएको हो । 

को हुन् उनी ?

सीताराम थपलिया नेपालको वित्तीय क्षेत्रका अनुभवी पूँजीबजार विज्ञ हुन् । उनले नेपालको पूँजीबजारको विकास र आधुनिकीकरणमा उल्लेखनीय योगदान पुर्याएका छन् ।

थपलियाले सन् २०१३ देखि २०१७ सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्य गरेका थिए । उनको नेतृत्वमा नेप्सेमा पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली लागू गरिएको थियो भने धितोपत्र कारोबारलाई डिम्याट प्रणालीमार्फत डिजिटल बनाउने महत्वपूर्ण काम सम्पन्न भएको थियो ।

उनले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा अध्यक्ष तथा सञ्चालकको जिम्मेवारीसमेत सम्हालेका थिए । त्यस क्रममा उनले डिपोजिटरी सेवालाई देशभर विस्तार गर्नुका साथै धितोपत्र फर्छ्योट (सेटलमेन्ट) प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

यसका अतिरिक्त थपलियाले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नागरिक लगानी कोष (सीआईटी) का सञ्चालक समिति सदस्यका रूपमा पनि काम गरेका छन् । ती संस्थाहरूमा रहँदा उनले नेपालको पूँजीबजारसम्बन्धी नीतिगत तथा संस्थागत सुधारमा महत्वपूर्ण योगदान दिएका छन् ।    

Share News