काठमाडौं । बुधबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर ६३ हजार ७४४ पटकको कारोबारमा किनबेच भएका छन् ।
बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसा पुगेको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ३२ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोपावरको २८ करोड रुपैयाँभन्दा बढी र बुटवल पावर कम्पनीको करिब २६ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस दिन १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक घटेको छ । जलविद्युत् उपसमूह सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी बढेका छन् ।