काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा बन्द भएको हो ।
नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । अघिल्लो कारोबार दिन सोमबार करिब ४ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस दिन ३६० वटा स्टकको ५३ हजार ३० पटकको कारोबारमा १ करोड ५३ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
मंगलबार बेनी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ६० रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता ४६६ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य १२ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ ।
यस दिन युनिलिभर नेपालको सेयरमूल्य सबैभन्दा बढी ४.९१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावरको साढे २४ करोड रुपैयाँभन्दा बढी र सानिमा मिडिल तमोर हाइड्रोपावरको २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये मंगलबार चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ । लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक पनि सामान्य बढेका छन् ।