सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोलाई आईपीओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले आइतबार दुवै कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो । सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त रहेको छ । त्यसैगरी, याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । याम्बलिङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढेर २६७४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधी विद्युतको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एपीआई पावरको ३३ करोड, मन्जुश्री फाइनान्सको २८ करोड, आँखु खोला जलविद्युतको २६ करोड र एसवाई प्यानलको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक र रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।   

श्री स्टील्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौं । श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावलीअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ जारी गर्ने जनाएको छ । आईपीओ निष्काशन कार्यका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। आइतबार सम्पन्न सम्झौतामा श्री स्टील्स लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्पन्न भएको जनाइएको छ । श्री स्टील्स लिमिटेड पूर्ण स्वचालित प्लान्टमार्फत टीएमटी रिबार उत्पादनमा विशेषज्ञता हासिल गरेको कम्पनी हो । भौगोलिक जटिलता र भूकम्पीय जोखिम उच्च रहेको नेपालमा बलिया संरचना निर्माणको आवश्यकता औंल्याउँदै कम्पनीले अत्याधुनिक जापानी प्रविधिमा आधारित सिक्स–स्ट्यान्ड ब्लक मिल प्रयोग गरी उत्पादन गर्दै आएको जनाएको छ । विश्वस्तरीय प्रविधि प्रयोग गरेर गुणस्तरीय उत्पादनमार्फत नेपालको औद्योगिक आधार मजबुत बनाउने, फलाम तथा रडजन्य सामग्रीमा देशलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने कम्पनीको लक्ष्य रहेको उल्लेख गरिएको छ ।