पहेँलो धातुले रातो बनायो नेप्से

काठमाडौं । दसैँको विदा हुनुभन्दा अगाडि अर्थात् गत असोज १२ गते ४४ खर्ब ५२ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ थियो, बजार पुँजीकरण अर्थात् लगानीकर्ताहरुको सेयर सम्पत्ति । तर, मंगलबार (असोज २२ गते) को बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब ९५ करोड ६७ लाख रुपैयाँमा झरेको छ । मंगलबार र बुधबार मात्रै लगानीकर्ताहरुले १ खर्ब ७३ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ गुमाइसकेका छन् । दुई दिनको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०३.९२ अंक घटिसकेको छ । मंगलबार नेप्से परिसूचक ५८.५५ अंक र बुधबार ४५.३६ अंक घटेर नेप्से परिसूचक २ हजार ५५९.५९ अंकमा झरेको छ । दसैँ अगाडि अर्थात् गत असोजमा नेप्से सूचक २ हजार ६६३.५१ अंकमा थियो । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भयो । गत असोज १२ गते सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३६० रुपैयाँ थियो । १० दिनको अवधिमा सुनको मूल्य प्रतितोला ४६ हजार ६४० रुपैयाँ बढिसकेको छ ।  यसरी सुनका लगानीकर्ताहरुले तोलामै हजारौं रुपैयाँ फाइदा लिइरहँदा सेयर लगानीकर्ताहरु पनि सुनतिरै आकर्षित भइरहेका छन् । जसले गर्दा सेयर बजार घट्न पुगेको स्वयम् सेयर लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता देव गुरागाईँ पहेँलो धातुले नेप्से राताम्मे बनाएको बताउँछन् । ‘पहेँलो धातुको मूल्य एकाएक कहाँ पुगिसक्यो । तर, सेयर बजार जस्ताको त्यस्तै रह्यो । सेयर लगानीकर्ताहरू सुनमा डाइभर्ट भएका देखिन्छन् । त्यो त नतिजा पनि देखिसकेको छ । यतातिर (नेप्से) हुनुपर्नेमा उतातिर (सुन) गएर नतिजा देखिन थाल्यो । सेयर बजार सेलायो,’ उनले भने ।  उनका अनुसार जेनजी आन्दोलन र बाढी पहिरो बाहेक सबै माहोल राम्रो छ । पुँजी बजार सुधार सम्बन्धी प्रतिवेदनमा पनि विगतमा देखिएका अड्चनका विषय राखिएका छन् । सेयर बजारसा देखिएका अड्चन खुला हुने आँकलन गरिएको हुँदा लगानीकर्ताहरुले धैर्यता राख्नुपर्ने उनको भनाइ छ ।  ‘राजनीतिक अनिश्चितताले पनि सेयर लगानीकर्ताहरुमा निराशा छाएको छ । जे-जे हुने भनिएको छ, चुनाव लगायतमा अन्योलता छन् । साथै ठूलो अर्काे शक्ति संघर्ष हुने किसिमको माहोल पनि देखिन्छ । अब यसलाई कसरी स्पष्ट हुन्छ, आगामी दिनमा देखिएला । तर, तत्काललाई लगानी गरेर ढुक्क हुने अवस्था भने देखिँदैन,’ उनले भने, ‘बजारमा उथलपुथल हुँदा ट्रेडरहरुलाई ठिकठिकै होला । तर, ढुक्क भएर लगानी गर्ने वातावरण नभएकाले लगानीकर्ताहरु जुरमुराएका छैनन् ।’  ३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण आइसकेको हुँदा बरु सुनमा लगानी गर्नु उपयुक्त हुने उनको धारणा छ । सेयर बजार पनि २५ सयको बटम लाइन रहेकाले धेरै नघट्ने उनले बताए । ‘२५ सयको बटम लाइन हो । तर, बढ्छ भन्नका लागि ३ हजार अंकमाथि गएपछि मात्रै हो । ३ हजार र २५ सयमा धेरै ठूलो ग्याप छ । वियरिसमा नजओस भन्ने हो । यदि वियरिसमा गयो भने ठूलो प्यानिक हुन्छ ।’  लगानीकर्ता राजु पौडेल पनि सेयर लगानीकर्ताहरु सुन बजारमा डाइभर्ट भएको बताउँछन् । तर, सुन मात्रै फ्याक्टर नभएर अन्य विभिन्न घटनाहरूले गर्दा पनि बजार ओरालो लागेको उनको भनाइ छ । ‘सुन मात्रै बढ्न थाल्यो । सबै सुनतिर लागेको जस्तो देखिन्छ । ठ्याक्कै सुन बढेर बजार घटेको भन्ने पनि होइन । विगतमा पनि यसरी सुन बढ्दा बजार घटेको देखिँदैन । तर, वित्तीय चेत भएका मान्छेहरूले पोर्टफोलियो डाइभर्सिफिकेसन गर्ने जमर्को गर्छन्,’ उनले भने, ‘जस्तो सेयर बजार घट्दा सुनतिर सिफ्ट हुने, बैंकको ब्याजदर बढ्दा सेयर बेचेर एफडीमा राख्ने गरेका छन् । तर, अहिले पूरै त्यस्तो ट्रेण्ड भने होइन ।’  उनका अनुसार जेनजी आन्दोलन पछि देशमा ठूलो उथलपुथल भयो । निर्वाचन गर्नका लागि अन्तरिम सरकार बनेपनि विदेशी चलखेल लगायत विभिन्न टीकाटिप्पणीले लगानीकर्ताहरुमा नकारात्मक असर परेको उनको भनाइ छ । साथै, अझै ठूला आन्दोलन गर्ने भन्ने विषयले पनि लगानीकर्ताहरुमा अन्योलता कायम रहेको उनले बताए । ‘जेनजीहरुले हाम्रा मागहरु पुरा भएनन्, हाम्रा माग पूरा गर्नका लागि फेरि देशव्यापी रुपमा आन्दोलन गर्ने भनिरहेका छन् । साथै, दसैँ लगत्तै पूर्वी नेपालमा भीषण बाढी पहिरोले धेरै हाइड्रोपावरहरु तहसनहस भए । जसले निर्जीवन बीमालाई पनि प्रभाव परेको छ,’ उनले भने, ‘जेनजी आन्दोलन र रसुवामा आएको बाढीले निर्जीवन बीमा कम्पनी थाले परेका थिए । अहिलेको बाढीले पनि फेरि निर्जीवनतर्फ असर गर्दा निर्जीवन बीमा र हाइड्रो सेक्टरमा प्रेसर आउँदा समग्र बजार नै दबाबमा देखिएको हो ।’  चुनाव हुन्छ की हुँदैन भन्ने अहिले पनि अन्योलता रहेको बताउँदै उनले भने, ‘तिहार पछि ठूला आन्दोलन गर्ने भनेर पार्टीहरू सुनिएको छ । राजावादी, दुर्गा प्रसाई लगायत समूह पनि सडकमा आउने भनेपछि लगानीकर्ताहरुको मनोबल कमजोर भएको हो । यसकारण नै बजारमा गिरावट आएको देखिन्छ ।’ 

शिव श्री हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज असोज २३ गते अन्तिम दिन रहेको छ । भदौ १९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

सेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा हटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन जारी गर्दै सेयर धितो कर्जाको सीमा हटाएको हो । यसअघि सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ थियो । यस्तै, संगठित संस्थाको शेयर, डिबेञ्चर तथा अन्य लगानीमा राष्ट्र बैंकले ६ महिना भन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको हो । यस्तै, खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्थालाई हटाएको छ ।