काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन पनि बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१ अंकमा पुगेको हो ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजार बढे पनि अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ । आज १०८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।
बैंकिङ समूहको सूचक २.०४ प्रतिशतले बढेपछि समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । यस्तै फाइनान्स समूह ०.२८ प्रतिशत, जीवन बीमा ०.१६ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.०५ प्रतिशतले उकालो लागे ।
यस्तै विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य तथा व्यापार समूहका सूचकमा गिरावट आएको छ ।
कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स, सानीगढ हाइड्रोपावर र अपर लोहोरेखोला जलविद्युत कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ।
धौलागिरि लघुवित्तको सेयर मूल्य १३.६७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.०९ प्रतिशत तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५३ प्रतिशतले बढेको छ ।
भुजुङ हाइड्रोपावरको सेयर मूल्य ९.४३ प्रतिशतले घट्दा सामुदायिक लघुवित्त ७.८३ प्रतिशत, सीवाईसी लघुवित्त ७.२३ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ५.५६ प्रतिशतले ओरालो लागेका छन् ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, नबिल बैंक, ग्लोबल आईएमई बैंक, आँखुखोला जलविद्युत कम्पनी र साहस ऊर्जा अग्रस्थानमा रहे ।