सूर्यकुण्ड हाइड्रोको आईपीओ बिक्री खुला, ५० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज माघ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले १३ हजार ७९३ कित्ता कर्मचारी र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखि बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १ सय रुपैयाँको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण बिक्री नभएमा आवेदन दिने समय फागुन ३ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
नेक्सजेन म्यानेजमेन्टले पायो ‘डबल बी’ रेटिङ
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने तयारीस्वरूप केयर (एनपी ‘डबल बी’) इस्युअर रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले २०८२ माघ १४ गते गरेको मूल्यांकनका आधारमा कम्पनीलाई उक्त रेटिङ प्रदान गरिएको हो । लगानी कम्पनीका रूपमा सञ्चालन हुँदै आएको नेक्सजेन म्यानेजमेन्टले २०८२ पुस मसान्तसम्म संस्थापक सेयरयरधनीबाट ५० करोड रुपैयाँ पुँजी संकलन गरिसकेको छ । २०७४ सालमा स्थापना भएको कम्पनी पछिल्ला ६ वर्षदेखि निरन्तर खुद नाफामा रहँदै आएको छ । यस अवधिमा कम्पनीले शेयरधनीलाई लाभांश समेत वितरण गरिसकेको छ भने कम्पनीको नेटवर्थ हाल अंकित मूल्यभन्दा माथि रहेको जनाएको छ । यसैबीच, २०८२ माघ ५ गते सम्पन्न विशेष साधारण सभाले कम्पनीको २० प्रतिशत आईपीओ निष्काशन गर्ने निर्णय पारित गरेको छ । उक्त निर्णयसँगै कम्पनीको चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने प्रस्ताव पनि स्वीकृत गरिएको हो । आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल मार्केटसँग २०८१ मंसिर ८ गते नै सम्झौता गरिसकेको छ ।
सेयर बजारमा १४ अर्बको कारोबार, ३ कम्पनीमा नकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेर २७१४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३२० कम्पनीको ३ करोड कित्ता सेयर किचबेच हुँदा १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५२ करोड, युनाइटेड मोदीको ४६ करोड, युनियन हाइड्रोपावरको ४४ करोड र राधी विद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट, माथिल्लो लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेका छन् ।