१८ प्रतिशत लाभांश बाँड्ने मुक्तिनाथ विकास बैंकको घोषणा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।  

सागर डिष्टिलरीको आईपीओ खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । भदौ ३० गतेदेखि बिक्री खुला गरिएको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरुले असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

२६.३१ प्रतिशत लाभांश बाँड्ने नबिलको घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले ८ करोड १० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १.३१ प्रतिशतका दरले ४२ लाख ६३ हजार १५७ रुपैयाँ नगद गरी कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज २४ गते बिहान ११ बजे काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन स्वीकृत गर्ने र आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।  यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको पुनर्नियुक्ति लगायत सञ्चालक समितिमा भएका परिवर्तनलाई अनुमोदन गर्नेछ ।