दाहालको दावी– सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन् । आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।  उनले भने, ‘अहिले देश साँच्चै संकटमा छ । राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन ।’ संयोजक दाहालले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको सङ्घर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको स्वीकार गरे । उनले विगतका कमजोरीहरूप्रति राजनीतिक दलहरूले एक–अर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए ।  संयोजक दाहालले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग ‘नङ र मासु’ को सम्बन्ध रहेको चर्चा गर्दै साझा निकासका लागि चिन्तन र मनन गर्न उपस्थित विभिन्न दलका प्रतिनिधिलाई आह्वानसमेत गरे । कम्युनिस्ट शक्तिहरूको एकता र सहकार्यले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण सम्भव हुने उनको निष्कर्ष छ । 

सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख छः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाएका छन् । ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।  नेता ज्ञवालीका अनुसार लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको लोकतान्त्रिक खुलापन यतिबेला गम्भीर सङ्कटमा परेका छन् ।  ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षणहरू प्रकट गरेको उनको तर्क छ ।  संसदभित्रको शक्ति सन्तुलन प्रतिकूल रहेको उल्लेख गर्दै उनले सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको औंल्याए ।  झन्डै दुई–तिहाइको जनादेशका कारण सरकारले भोलि संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।  संसदमा संविधान निर्माण गर्ने पक्षधर शक्तिहरूको उपस्थिति कमजोर रहेकाले पनि अधिनायकवादको खतरा बढेको उनको भनाइ छ ।

गगनलाई भेट्न देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।  उपचारका क्रममा करिब पाँच महिना सिंगापुरमा बसेर साउन २८ गते नेपाल फर्किएका देउवा थापासँग भेटवार्ताका लागि तयार भएका हुन् । देउवाका निजी सचिव भानु देउवाका अनुसार थापासँगको भेटका लागि समय तय गर्ने तयारी भइरहेको छ ।  देउवाका नियमित कार्यक्रमलाई हेरेर भेटको समय यकिन गरिने उनले जानकारी दिए । ‘गगनजीसँगको भेटका लागि तयारी गरिरहेका छौं,’ भानुले भने, ‘तर भेटको समय र छलफल गर्ने विषयवस्तु अहिलेसम्म निश्चित भएको छैन ।’ विशेष महाधिवेशनबाट सभापति बनेपछि थापा र पूर्वसभापति देउवाबीच अहिलेसम्म प्रत्यक्ष भेटवार्ता वा टेलिफोन संवादसमेत भएको छैन ।  त्यसैले आगामी भेटलाई प्रारम्भिक तथा सामान्य भेटका रूपमा पनि लिन सकिने देउवाका निजी सचिवले भानुले बताए । देउवा नेपाल फर्किएपछि कांग्रेसभित्र पार्टीको आन्तरिक एकता कायम गर्न विभिन्न तहबाट पहलसमेत सुरु भएको छ ।  विशेष महाधिवेशनमा थापालाई समर्थन गरेका नेताहरूले समेत देउवा र थापाबीच संवाद र सहकार्य आवश्यक रहेको बताउँदै आएका छन् । यसै क्रममा कांग्रेस नेता नैनसिंह महरले पार्टी एकताका लागि आफूले तीनवटा प्रस्तावसहित सभापति थापासँग भेट गरेको बताएका छन् ।  थापाले आफूले राखेका प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको महरको दाबी छ । ‘पार्टी एकताका लागि तीनवटा प्रस्तावसहित सभापतिलाई भेटेको छु । उहाँले हुन्छ भन्नुभएको छ,’ महरले भने  उनका अनुसार प्रस्तावको पहिलो बुँदामा उनले सभापति थापा र पूर्वसभापति देउवाले पार्टी एकताका लागि छलफल गर्नुपर्ने उल्लेख गरेका छन् । दोस्रोमा दुबै सभापतिले १५औं महाधिवेशनको नेतृत्व आफूले लिन पाउनुपर्ने दाबी त्यागेर तेस्रो व्यक्ति चयन गरेरै भएपनि अघि बढ्नुपर्ने प्रस्ताव नेता महरले अघि सारेका छन् । तेस्रोमा अदालतको निर्णय आउनुपूर्व नै पार्टी एकतामा जाने र अदालतको निर्णय दुबैले स्वीकार गर्नुपर्ने उनले सुझाएको बताए ।  ‘पूर्वसभापतिज्यूले ठीक हो त भन्नुभएको छ । छलफल पनि गर्ने अदालतको निर्णय पनि पर्खने जस्तो संकेत गर्नुभयो,’ आइतबार बिहान देउवासँग भेट गरेका महरले भने । विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको विभाजन र आन्तरिक ध्रुवीकरण अन्त्य गर्न देउवा र थापाबीचको संवादलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।  यद्यपि, उनीहरूबीच हुने भेटमा कुन–कुन विषयमा छलफल गर्ने भन्नेबारे भने अहिलेसम्म औपचारिक तयारी भइसकेको छैन ।