मुलुकको पछिल्लो अवस्था र पार्टीबारे डा. शेखर कोइरालाको बुद्धिजीवीहरूसँग छलफल
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरुसँग छलफल गरेका छन् । नेता कोइरालाले आज (शनिबार) आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीको पछिल्लो अवस्था र मुलुकको बारेमा छलफल गरेका डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल, जेनजी युवा अभिजित अधिकारी, करिना पुरी लगायतको सहभागिता रहेको थियो । उक्त छलफलमा कांग्रेस नेताहरु डा. शशाङ्क कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मीनेन्द्र रिजाल, डा. गोविन्दराज पोखरेललगायत सहभागी थिए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बस्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार (आज) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गरी सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ । यसैबीच सोमबार नै कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले एक सूचना जारी गरी सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको जानकारी दिए ।
कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताएका छन् । कांग्रेस तनहुँको शनिबार (आज) आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले एकताको विकल्प नभएको बताए । वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई मजबुत बनाउन सङ्गठन सुदृढीकरण आवश्यक रहेको औंल्याउँदै महामन्त्री पौडेलले सबै तहका नेता तथा कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे । ‘पार्टीभित्र आपसी सहकार्य, समन्वय र विश्वास बलियो बनाउनसके मात्रै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन सकिन्छ’, उनले भने । महामन्त्री पौडेलले कांग्रेसले सुरु गरेको ‘जरा अभियान’ले सङ्गठनलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गरे ।