लामो समय अनुपस्थित रहेपछि सुदूरपश्चिमका प्रदेश सभा सदस्य देउवा पदमुक्त
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ । प्रदेश सभा बैठकमा लामो समयदेखि बिनाजानकारी लगातार अनुपस्थित रहँदै आएकाले उनलाई पदमुक्त गर्ने निर्णय गरिएको हो । सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय भइसकेको र यसबारे भोलिको प्रदेश सभा बैठकमा औपचारिक घोषणा गर्ने तयारी रहेको जानकारी दिएका छन् । पूर्वमन्त्री समेत रहेका देउवा गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनलगत्तै पार्टी, प्रदेश सभा र प्रदेश सरकार कसैलाई पनि आधिकारिक जानकारी नदिई अमेरिका गएका थिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाशबहादुर बिनासूचना लगातार अनुपस्थित रहे पनि विगत ११ महिनादेखि उनको खातामा नियमित रूपमा प्रदेश सभाबाट तलबभत्ता दाखिला हुँदै आएको थियो । सूचना नै नदिई लामो समय गैरहाजिर रहेपछि सभामुखले उहाँलाई पदमुक्त गर्ने कानुनी प्रक्रिया अगाडि बढाएका हुन् ।
१५औँ महाधिवेशन समयमै गर्न कांग्रेसले गर्यो विधानको धारा निलम्बन
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन निर्धारित समयसीमाभित्र सम्पन्न गर्न विधानको धारा ३५को उपधारा २ को घ आवश्यकताअनुसार निलम्बन गर्ने निर्णय गरेको छ । विशेष परिस्थितिमा महाधिवेशनको प्रक्रिया प्रभावित नहोस् र निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न सकियोस भन्ने उद्देश्यले विधानबमोजिम उक्त धाराको आवश्यक व्याख्या गर्दै निलम्बन गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ । पार्टीको विधानले तोकेको व्यवस्थाका कारण महाधिवेशनको प्रक्रिया अघि बढाउन देखिएका व्यावहारिक जटिलता समाधान गर्न यस्तो निर्णय गरिएको हो । कांग्रेसले महाधिवेशनलाई समयमै सम्पन्न गर्न आवश्यक संगठनात्मक तथा वैधानिक प्रक्रिया अघि बढाउने जनाएको छ । कांग्रेसले विशेष परिस्थितिमा विधानका केही व्यवस्थालाई आवश्यकताअनुसार निलम्बन गर्न सक्ने प्रावधानअनुसार धारा ३५को उपधारा २ को घ सम्बन्धी निर्णय गरेको जनाएको छ । उक्त निर्णयसँगै १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित संगठनात्मक गतिविधिलाई निर्धारित समयसीमाभित्र अघि बढाउने बाटो खुलेको काँग्रैसले जनाएको छ ।
प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता जारी
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच मंगलबार (आज) भेटवार्ता भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अगाडिबाट दुईबीच शिष्टाचार भेटवार्ता सुरु भएको प्रधानमन्त्री प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए । उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी छन् । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका थिए । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो ।