दरबन्दी हटेपछि स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केसीको सरुवा

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीको सरुवा भएको छ । उनलाई स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरिएको हो । मन्त्रालयमा वरिष्ठ स्वास्थ्य प्रशासकको दरबन्दी नरहेपछि डा. केसीलाई तालिम केन्द्रमा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ ।  नयाँ संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) संरचनाअनुसार मन्त्रालयमा रहेको उक्त दरबन्दी हटाइएपछि उनको पदस्थापनका लागि तालिम केन्द्र सरुवा गरिएको हो । नयाँ ओ एण्ड एम संरचनाले मन्त्रालयको संगठनात्मक संरचना तथा विभिन्न पदको दरबन्दीमा समेत पुनरावलोकन गरेको छ ।  सोही क्रममा मन्त्रालयमा रहेको वरिष्ठ स्वास्थ्य प्रशासकको दरबन्दी हटाइएको थियो । दरबन्दी नै नरहेको अवस्थामा मन्त्रालयमा उनलाई निरन्तर राख्न कानुनी तथा प्रशासनिक जटिलता देखिएपछि सरुवा गरिएको बताइएको छ ।  मन्त्रालयमा सूचना अधिकारीका रूपमा कार्यरत रहँदा डा. केसीले मन्त्रालयका निर्णय, गतिविधि तथा स्वास्थ्यसम्बन्धी सूचनामा सञ्चारमाध्यमसँग समन्वय गर्दै आएका थिए । मन्त्रालयको नयाँ संगठन संरचना कार्यान्वयनसँगै विभिन्न पद तथा कर्मचारीको जिम्मेवारी र पदस्थापनमा समेत परिवर्तन भइरहेको छ ।  यसैक्रममा डा. केसीको सरुवालाई पनि नयाँ ओ एण्ड एम संरचनाअनुसार गरिएको प्रशासनिक व्यवस्थापनका रूपमा हेरिएको छ ।

नयाँ भनिएका राजनीतिक शक्तिमा शासन गर्ने न्यूनतम दक्षतासमेत छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बरबादीतर्फ उन्मुख रहेको बताएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गरेका हुन् । अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरे ।  नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षतासमेत नभएको उनको टिप्पणी छ ।  अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको ओलीले बताए ।  खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने जिकिर उनले गरे ।  सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको उनको भनाइ छ ।  ओलीले सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गरे ।  अनुभवी र दक्ष नेतृत्वको अभावमा देशको अवस्था बिग्रिएको तर्क गर्दै उनले ‘उरन्ठेउला’ व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप लगाए ।  संविधानको रक्षाका विषयमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको बताए । अध्यक्ष ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको भन्दै कार्यकर्ताहरूलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशन समेत दिए ।

गगन र विश्वलाई दीपकले भने - जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ?

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।  काठमाडौंमा आयोजित नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा पराजित भएकाहरूले अरूमाथि प्रश्न उठाउनु लज्जास्पद भएको टिप्पणी गरेका हुन् । नेता खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै उनले कुनै पनि निर्वाचन नहारेको र जनमतको कदर गरेको बताएका छन् । पार्टीभित्रको आन्तरिक कलह र ‘रडाको’ले कांग्रेसलाई कमजोर बनाएको भन्दै यस्तै गतिविधिले पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याउन मुख्य भूमिका खेलेको उनको आरोप छ। पार्टीभित्रको विवाद र जनमतबारे स्पष्ट पार्दै उनले भने, ‘जनताले उहाँहरूको पूरा कार्यसमितिलाई नै पराजित गराइदिएका छन् । जनताबाट अस्वीकृत भइसकेपछि पनि के आधारमा दाबी गरिँदैछ ? निर्वाचनमा जनताले दिएको उत्तरलाई स्वीकार गर्नुपर्छ। कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्ने कुरा आम जनताले बुझिसकेका छन् । त्यसैले नेताहरूले आपसमा बसेर छलफल गरी पार्टीलाई बलियो बनाउनुपर्छ ।’ अहिलेको सरकार र युवा नेतृत्वको गतिविधिको मूल्याङ्कन गर्ने समय बाँकी रहेको उल्लेख गर्दै खड्काले आगामी पाँच वर्षसम्म साङ्गठनिक सुदृढीकरण र जनतालाई आश्वस्त पार्ने काममा लाग्नु नै बुद्धिमानी हुने सुझाव दिएका छन् । उनले आफ्ना गल्तीहरू स्वीकार गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न संस्थापन पक्षका नेताहरूलाई आग्रहसमेत गरेका छन् ।