कोशीमा कांग्रेसको निर्वाचन समीक्षा आज, गगन थापा विराटनगर जाँदै
काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा आयोजना गर्दैछ । उक्त कार्यक्रममा सहभागी हुन पार्टीका सभापति गगनकुमार थापा आज बिहान विराटनगर प्रस्थान गर्दैछन् । निर्धारित कार्यतालिका अनुसार थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् । बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् । पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, हालै सम्पन्न निर्वाचन परिणामको समग्र समीक्षा तथा आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संग्रौलाले बताइन् । कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला तथा क्षेत्रीय सभापतिहरू र अघिल्लो निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ । नेपाली कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा यस्ता समीक्षा कार्यक्रमलाई तीव्रता दिएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा संगठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो । पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी उपलब्धि तथा कमजोरी तथा सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने जनाएको छ । साथै, आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता व्यवस्थापन, १५औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियताका विषयमा समेत छलफल हुने सहमहामन्त्री संग्रौलाले जानकारी दिइन् ।
स्वास्थ्यलाभ र हिरासतपछि पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै ओली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीको सम्बोधन रहनेछ । सम्बोधनमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा संगठन सुदृढीकरणका विषय समेटिन सक्ने बताइएको छ । स्वास्थ्य अवस्था र प्रहरी हिरासतका कारण केही समय सार्वजनिक कार्यक्रममा अनुपस्थित रहेका अध्यक्ष ओली हाल स्वास्थ्यलाभको क्रममा छन् । गत चैत १४ गते पक्राउ परेका उनी १३ दिनपछि रिहा भएका थिए । त्यसपछि पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराई वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका ओली पहिलोपटक औपचारिक रूपमा पार्टी कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
गृहमन्त्री र सुरक्षा प्रमुखबीच मन्त्रालयमा 'हाइभोल्टेज' छलफल, फाइल खोल्ने र उच्चपदस्थलाई पक्राउ गर्ने तयारी
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो सुरक्षा अवस्था र केही गम्भीर प्रकरणहरूको अनुसन्धानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग घनिभूत छलफल सुरु गरेका छन् । गृह मन्त्रालयमा जारी उक्त बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललगायतका उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको छ । मन्त्रालय स्रोतका अनुसार यो बैठक विशेष गरी केही पुराना र नयाँ भ्रष्टाचार तथा अनियमितताका फाइलहरू पुनः खोलेर अनुसन्धानलाई तीव्रता दिने विषयमा केन्द्रित छ । बैठकमा दोषी देखिएका उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाउने तयारीबारे रणनीतिक छलफल भइरहेको बुझिएको छ । सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेका बेला गृहमन्त्रीको यो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।